संकटमा रहेको पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं, २९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् । मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी रहेको बताएका हुन् ।
पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा उनले राखे । “हामीले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेका छौं,” ढकालले भने, “पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ ।”
कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।