५.७ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा
काठमाडौं, ११ कात्तिक । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रतर्पm प्रवाहित कर्जा ३३.९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ५.७ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ६.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.४ प्रतिशतले बढेको छ । भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत थियो ।
चालू आवको २ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ६.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले बढेको छ ।