धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने प्रक्रिया शुरू
विवेक नागरी
धनगढी, १४ कात्तिक । कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउने प्रक्रिया अघि बढाइएको छ । गेटा विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सके सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनमा निकै राहत पुग्ने अपेक्षा गरिएको छ ।
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन सुदूरपश्चिम क्षेत्रको विकासमा निकै फाइदा पुग्ने यहाँका पर्यटन व्यवसायीको सञ्जय चौधरीको भनाइ छ । विमानस्थलको वृद्धि विकास गरेमा छिमेकी राष्ट्र भारतबाट नेपालका विभिन्न ठाउँमा घुम्न आउने पर्यटकलाई समेत निकै राहत पुग्ने पर्यटन व्यवसायीको कृष्ण महाराले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायको टोलीले धनगढी विमास्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन विमानस्थलको अवलोकन समेत गरेको थियो । क्षेत्रीय स्तरको विमानस्थलका लागि २५०० मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग निर्माण आवश्यक पर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्षेत्रीय स्तरको विमानस्थलका लागि जग्गा अधिग्रहण र पूर्वाधार निर्माणका लागि १५ अर्ब रुपैयाँ लाग्ने नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले बताए ।
क्षेत्रीयस्तरको बिमानस्थलका लागि नक्सा सहित गुरुयोजना समेत तयार भइसकेको, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताए । क्षेत्रीय विमानस्थलका लागि ३१७ बिगाहा जमिन आवश्यक पर्ने र जसमध्ये हाल विमानस्थलकोे स्वामित्वमा ८२ बिगाहा जमिन रहेको बताउदै आवश्यक थप २३४ बिगाहा जमिन अधिग्रहण गरिने मन्त्री आलेले बताए । उनले जग्गा अधिग्रहणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा दुई अर्ब बजेट विनियोजन गरिने बताए ।
विमानस्थलको स्थर उन्नतिका लागि प्रदेश सरकारसँग समेत सहकार्य गर्दै अगाडि बढ्ने मन्त्री आलेको भनाइ छ । धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको बनाए भारतीय तीर्थालुका लागि मानसरोवर जाने छोटो र सजिलो मार्ग सुदूरपश्चिम बन्नेछ ।