Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बैंकको पैसो एकै ठाउँमा थुप्रिन नदिन शेयर धितोमा ४ र १२ करोडको व्यवस्था गरिएको हो : गभर्नर अधिकारी

बैंकको पैसो एकै ठाउँमा थुप्रिन नदिन शेयर धितोमा ४ र १२ करोडको व्यवस्था गरिएको हो : गभर्नर अधिकारी

काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको पैसा एकै ठाउँमा जानबाट रोक्न मौद्रिक नीतिमार्फत शेयर धितोमा ४ र १२ करोड रुपैयाँको सिमा तोकिएको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘अर्थ–सम्वाद, बाहिरिदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकको तरलता व्यवस्थित गर्न राष्ट्र बैंकले उचित कदम चालेको बताए । बैकमा तरलता अभाव भए राष्ट्र बैंकले हल गर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा सेयरधितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था गरेको थियो ।

शेयर धितो राखेर ४ देखि ५ जनाले १ अर्बमाथि ऋण लिएको भन्दै अधिकारीले भविष्यमा यस्तो ऋणका कारण बैंकमा तरलता अभाव नहोस भन्ने उद्देश्यले यस्तो ऋणको सिमा तोकिएको बताए । उनले भने, ‘बैंकिङ क्षेत्रलाई व्यवस्थित गर्नतर्फ राष्ट्र बैंक लागेको हो ।’ सीमित लगानीकर्ताले फाइदा लिएकाले सबै लगानीकर्ताको पहुँच पुगोस भनेर शेयर धितोमा सिमा तोकिएको उनको भनाइ छ । ‘बैंकबाट पैसा नपाउने अवस्था सृजना नहोस भनेर शेयर धितोको सिमा तोकिएको हो’, उनले भने, ‘यस्तो व्यस्थाले कृषि र साना उद्योगीहरुले पनि सहज रुपमा ऋण प्राप्त गर्न सक्ने वातावरण सृजना हुन्छ ।’

त्यसैगरी कार्यक्रममा नेपाल बैंकर संघका अध्यक्ष भुवन दाहालले गत वर्ष कोभिडले सिथिल पारेको व्यवसायलाई उकास्न ऋण प्रवाह बढेको बताए । त्यसैले गत आर्थिक वर्षको अन्त्यतिर कर्जा प्रवाह अत्यान्तै बढेको उनको भनाइ छ । त्यस्तै चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा निक्षेप संकलमा कमी हुँदै गएकाले बैंकिङ क्षेत्रमा तरलता अभाव भएको दाहालले बताए । चालु आर्थिक वर्षको ३ महिनामा ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको दाहालले जानकारी दिए । तर, निक्षेपसँकलनको तुलनामा कर्जा प्रवाह बढेको उनको भनाइ छ । सो अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको दाहालको भनाइ छ ।

बैंकमा तरलता अभाव हुँदै जाँदा शेयर बजारमा प्रत्यक्ष प्रभाव पर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले बताए । शेयर बजारको स्थायित्वका लागि राष्ट्र बैंकले यसतर्फ सोच्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x