आधारभूत र उत्पादनको मूल्यमा जीडीपीको वृद्धिदर बढ्यो

काठमाडौं, १४ मंसिर । गत आर्थिक वर्ष २०७७÷७८ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर आधारभूत मूल्य र उत्पादकको मूल्यमा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका अनुसार सो अवधिमा जीडीपको वृद्धिदर आधारभूत मूल्यमा ३.९८ प्रतिशत र उत्पादकको मूल्यमा ४.०१ प्रतिशत रहेको अनुमान गरिएको छ । अघिल्लो वर्ष त्यस्तो वृद्धिदर क्रमशः २.१२ प्रतिशत र २.०९ प्रतिशतले ऋणात्मक रहेको थियो ।

२०७७–७८ को पहिलो त्रयमासमा कोभिडको असर तुलनात्मक रुपमा कम भएकाले निषेधाज्ञा र बन्दाबन्दी खुकुलो हुँदा आर्थिक गतिविधिमा सुधार आई आर्थिक वृद्धिदर अघिल्लो वर्षभन्दा उच्च रहन गएको केन्द्रीय बैंकले बताएो छ । यद्यपि, चौथो त्रैमासमा भएको संक्रमणको दोस्रो लहरले यो वृद्धिदर कायम हुन चुनौतीपूर्ण देखिएको औंल्याइएको छ ।

आर्थिक वृद्धिको प्रारम्भिक तथ्यांको आधारमा समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन २.६४ प्रतिशत र गैर–कृषि क्षेत्रको उत्पादन ४.५७ प्रतिशतले वृद्धि भएको अनुमान छ । अघिल्लो वर्ष कृषि क्षेत्रको उत्पादन २.२३ प्रतिशत तथा गैर–कृषि क्षेत्रको उत्पादन ३.९१ प्रतिशतले ऋणात्मक रहेको थियो ।

समीक्षा वर्षमा गैरकृषि क्षेत्र अन्तर्गत उद्योग क्षेत्रको उत्पादन ५.०५ प्रतिशत र सेवा क्षेत्रको उत्पादन ४.४३ प्रतिशतले वृद्धि भएको अनुमान छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर ३.६९ प्रतिशतले ऋणात्मक रहेको र सेवा क्षेत्रको वृद्धिदर ३.९७ प्रतिशतले ऋणात्मक रहेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *