कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३७.७ प्रतिशत

काठमाडौं, १५ मंसिर । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा एक तिहाइभन्दा बढी रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कका आधारमा प्रदेशको समग्र आर्थिक अवस्था तुलना गर्दा आव २०७७–७८ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७.७ प्रतिशत रहन पुगेको छ ।
प्रदेशगत रूपमा सबैभन्दा कम कर्णालीको हिस्सा सबैभन्दा कम चार प्रतिशतमा सिमित छ । बृहत् आर्थिक वर्गीकरणअनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश नं १ को हिस्सा सबैभन्दा धेरै २१.५ प्रतिशत छ भने कणरली प्रदेशको हिस्सा सबैभन्दा कम ५.२ प्रतिशत मात्रै छ ।
औद्योगिक उत्पादनमा वाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६ प्रतिशत रहँदा कर्णाली प्रदेश ०.९ प्रतिशतमा सीमित छ । यसैगरी थोक तथा खुद्रा व्यापार, मोटर गाडी तथा मोटरसाइकल मर्मत, यातायात तथा भण्डारण, घरजग्गा कारोबार र वित्तीय मध्यस्थता जस्ता सेवा क्षेत्रमा वाग्मती प्रदेशको हिस्सा ५६.५ प्रतिशत छ ।
आव २०७७–७८ मा ११ हजार ८३३ थप रोजगारी प्रदान गर्ने उद्देश्यले रु एक खर्ब ५६ अर्ब ६० करोड बराबरको पुँजी लगानी हुने गरी २०३ नयाँ उद्योग दर्ता भएका छन् । त्यसमध्ये ४३।८ प्रतिशत उद्योग वाग्मती प्रदेशमा दर्ता भएका छन् । कणरली प्रदेशमा भने नयाँ उद्योग दर्ता भएको देखिँदैन ।