विभागको सिफारिस सहित कोरिया जानेलाई डलर थप सुविधा
काठमाडौं, २४ मंसिर । दक्षिण कोरिया जाने नेपाली कामदारले थप डलर सटही सुविधा पाउने भएका छन् । बैदेशिक रोजगार विभागको सिफारिस सिफारिस सहित विद्युतीय कार्डको माध्यमबाट थप सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको हो ।
विवरण खुल्ने गरी कामदारले वैदेशिक रोजगार विभागबाट सिफारिस लिनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि कोरिया जाने कामदारहरूका लागि सटहीको फरक व्यवस्था गरेको जनाएको छ ।
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरूले कोरोना भाइरस महामारीका कारणले गर्दा क्वारिन्टिन खर्च गर्नुपर्ने भएकाले थप सटहीको सुविधा उपलब्ध गराउने व्यवस्था गरेको केन्द्रीय बैंकका प्रवक्ता देव ढकालले जानकारी दिए ।
राष्ट्र बैंकका अनुसार १ हजार ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा कामदारहरूले पाउनुका साथै बैदेशिक रोजगार विभागको सिफारिस सहित विद्युतीय कार्डको माध्यमबाट थप सुविधा उपलब्ध गराउनुपर्ने भएको हो ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अधिकतम अमेरिकी डलर २०० सटही सुविधा पाउने व्यवस्था यसअघि थियो ।
देशमा विदेशी मुद्राको सञ्चिति घट्दै आएपछि केन्द्रीय बैंक तथा सरकारले सटही सुविधामा कडाइ गर्दै आएका छन् ।
विदेशमा घुम्न जाने नेपालीहरू तथा अध्ययनमा जाने विद्यार्थीलाई सटही सुविधामा कडाइ भएको छ । कोरोनाको कारणले सिर्जित नयाँ नियमअनुसार कोरियामा विशेष प्रवेश पाउने कामदारलाई थप सुविधा दिने व्यवस्था गरेको केन्द्रीय बैंकको दाबी छ ।