Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

निजीक्षेत्रसँग सीधै पिपिए गरेर बिजुली खरिद गर्न बंगलादेश तयार

निजीक्षेत्रसँग सीधै पिपिए गरेर बिजुली खरिद गर्न बंगलादेश तयार

काठमाडौं, २९ मंसिर । नेपालमा उत्पादित भएको बिजुली आगामी वर्षदेखि बंगलादेशले खरिद गर्ने भएको छ । हाल खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको हो । बिजुलीको बजार खोज्नुपर्ने बाध्यता आइपरेको बेलामा बंगलादेशबाट आएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ ।

यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीनरूपमा विद्युत् खरिद सम्झौता (पिपिए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने जनाएको छ । नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गत वर्षायाममा ५०० मेगावाट विद्युत् खेर गएको थियो । यसबाट पाँच अर्ब बराबरको नोक्सान भएको छ । पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत् खेर गइरहेको हो ।

बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत् आउँदो वर्षबाटै खरिद गर्ने बताएका छन् ।

नेपालबाट विद्युत् आयातका लागि प्रसारण लाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताउनुभयो । राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाटसमेत बिजुली खरिद गर्ने प्रतिबद्धता जनाएका छन् ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गरेको बंगलादेश भ्रमणका क्रममा समेत ऊर्जा राज्यमन्त्री हमिदले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिबद्धता जनाएका थिए । बंगलादेशमा ऊर्जाको अत्यधिक माग रहेको छ । सो माग परिपूर्तिका लागि सबैभन्दा उत्तम विकल्प नेपाल नै भएकामा त्यहाँका सरकारी अधिकारी सहमत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x