काठमाडौं–रक्सौल रेलमार्गको डिपिआर अघि बढ्दै
काठमाडौं, २९ मंसिर । तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौं–रक्स्यौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि अध्ययन अघि बढेको छ । डेढ महिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले प्रतिवेदनको काम अघि बढेको रेल विभागले जनाएको छ ।
संघीय राजधानी काठमाडौंलाई भारतको रक्सौलसँग जोड्ने सो रेलमार्गका अध्ययनमा भारत सरकारको नै लगानी रहेको छ । अक्टोबर महिनामा सम्झौता भएपछि नै भारतीय पक्ष आएर अध्ययनमा लागेको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए । अहिले १८ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
भारतीय पक्षले सन् २०१८ मा प्रारम्भिक (प्रिलिमनरी इञ्जिनीयरिङ एण्ड ट्राफिक सर्वे) अध्ययन सकाएको महानिर्देशक भट्टराइले बताए । पहिलो चरणको काम भए पनि अझै महत्वपूर्ण काम बाँकी छ । अहिलेको विस्तृत अध्ययनमा ‘फाइनल लोकेसन सर्वेक्षण’ हुने बताइएको छ ।
सो रेलमार्गको लम्बाइ झण्डै १३६ किमी हुने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । रेलमार्ग निर्माणमा कति लगानी लाग्ने भनी एकिन नभएको महानिर्देशक भट्टराईले बताए । विस्तृत अध्ययन हुँदा नै पहिले त्यसमा लाग्ने लगानी एकिन हुने र त्यसकै आधारमा कहाँबाट व्यवस्थापन गर्ने भन्ने छलफल हुने उनको भनाइ छ ।