धितोपत्र बोर्ड अध्यक्ष छनोटमा फेरि नयाँ विज्ञापन
काठमाडौँ, १५ पुस । सरकारलाई नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न हम्मेहम्मे परेको छ । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको छ ।
कात्तिक ११ गतेको वित्रापनमा अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए पनि छनोट तथा सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम छनोट गरेर सरकारलाई सिफारिस गर्न नसकेपछि फेरि नयाँ विज्ञापन खोलिएको हो ।
छनोट समितिले बिहीबार सार्वजनिक सूचना जारी गरेर २९ पुसभित्र आवेदन दिन आह्वान गरेको छ । साथै यसअघि आवेदन दिएकाहरूलाई पनि फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन भनिएको छ ।
यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नवराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजी बजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।
धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । अर्थमन्त्रीले मन्त्रिपरिषमा प्रस्ताव लगेर तीनमध्ये एक जनालाई नियुक्ति दिने व्यवस्था छ ।