Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्यटन क्षेत्रमा ओमिक्रोन त्रास, मापदण्ड पालना गरेर पर्यटन चलायमान बनाउनुपर्नेमा जोड

पर्यटन क्षेत्रमा ओमिक्रोन त्रास, मापदण्ड पालना गरेर पर्यटन चलायमान बनाउनुपर्नेमा जोड

काठमाडौं, २६ पुस । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा कोभिडको ओमिक्रोन भेरियन्टले पुनः पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । पछिल्ला दिनमा कोभिडका सङ्क्रमितको संख्या पनि ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । महामारीको अवस्था हेरेर स्मार्ट लकडाउन गर्नेसम्मका विषयमा छलफल भइरहेको छ ।

यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका छन् । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग आइतवार गरेको छलफलमा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुपर्ने सुझाव दिएका हुन् ।

साथै उनीहरूले कोरोना सङ्क्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन क्षेत्र धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । सङ्क्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलाउनुपर्ने व्यवसायीको सुझाव छ ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले विगतमा कोभिडको सङ्क्रमण र सीमित स्रोत र साधनका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनले फेरि कोभिडको नयाँ सङ्क्रमण बढिरहेको सन्दर्भमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल एसोेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिनुभयो । यस्तै एक्सपिडिसन अपरेटर एसोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x