कोरोना बीमितले यो वर्ष पनि भुक्तानी पाउँने सम्भावना न्यून, अर्थमन्त्रालयलाई पौने नौ अर्बको स्रोत जुटाउनै मूश्किल
काठमाडौं, ७ माघ । सरकारले कोरोना बीमाको दायित्व वापतको रकम निकासा नगरिदिदा अधिकांश बीमितले अझै दाबी भुक्तानी पाउन सकेका छैनन् । रकम व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्काल भुक्तानी दिन सक्ने अवस्था नरहेको अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।
अहिलेसम्म एक लाख ३७ हजार सात सय ५४ जनाको कोरोना बीमामा दावी परेको छ । सरकारको दायित्वमा नौ अर्ब ६२ करोड छ लाख रुपैयाँ छ । मन्त्रालयले कसरी भुक्तानी दिन सम्भव हुन्छ भनेर मोडालिटी बनाउन लागेको प्रवक्ता शाक्यले जानकारी दिए । आवश्यक रकमको तुरुन्तै व्यवस्थापन गर्न सम्भव नदेखिँएकाले पनि छिटोमा चालू आर्थिक वर्ष भित्रमा भुक्तानी दिने मन्त्रालयको योजना रहेको उनले बताए ।
बीमा कम्पनीहरुले पनि सरकारको दायित्वमा परेको रकम निकासा नगरेसम्म भुक्तानी दिन नसकिने जनाउन बीमितलाई गराइ सकेको चंकी क्षेत्रीले जानकारी दिए । कोरोना बीमा गर्दाको शुल्कवापत कम्पनीहरूले जम्मा एक अर्ब पाँच करोड रुपैयाँ उठाएका थिए । तर कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीको तर्फबाट संयूक्त रूपमा चार अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी दिइसकेका छन ।