Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

तीन गुणाले बढ्यो ठूला र मझौला उद्योगको दर्ता

तीन गुणाले बढ्यो ठूला र मझौला उद्योगको दर्ता

काठमाडौं, २१ माघ । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७÷७८ को पुस मसान्तसम्मका तुलनामा चालू आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्यांकले देखाउँछ ।

विभागका अनुसार गत आवको पुस मसान्तसम्ममा १०३ ओटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । चालू आवको सोही अवधिमा उद्योग दर्ताको संख्या बढेर १५४ ओटा पुगेको छ । विभागका अनुसार हालसम्ममा ८ हजार ६०८ ओटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ओटा ठूला, ५७ ओटा मझौला र ५२ ओटा साना उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १७ ओटा ठूला, २१ ओटा मझौला र ६५ ओटा साना उद्योग दर्ता भएका थिए । गतवर्षको तुलनामा अहिले तीन गुणा बढी ठूला र मझौला उद्योग दर्ता भएका हुन् ।

त्यस्तै हालसम्म १ हजार २५९ ठूला, १ हजार ९६६ मझौला र ५ हजार ३८३ ओटा साना उद्योग दर्ता भएको विभागले बताएको छ । लघु उद्यम र घरेलु उद्योगबाहेक १५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योगलाई साना, १५ देखि ५० करोड रुपैयाँसम्म पूँजी भएका उद्योगलाई मझौला र ५० करोड रुपैयाँभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योगका रूपमा लिइन्छ । बढीमा २० लाख रुपैयाँसम्म पूँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत शीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ ।

उद्योग दर्तासँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा ७२ अर्ब ६२ करोड रुपैयाँको लगानी प्रस्ताव भएकोमा चालू आवमा सो लगानी बढेर १ खर्ब ८६ अर्ब पुगेको छ । हालसम्म २४ खर्ब ७० अर्ब रुपैयाँको लगानीसहित उद्योग दर्ता भएका विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x