प्रहरी बरिष्ठ उपरिक्षक जोशीबाट नागरिकमैत्री व्यवहार तालिम उद्घाटन
काठमाडौँ, ६ चैत । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा प्रहरी हवल्दार र प्रहरी जवान लक्षित ‘नागरिक मैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आइतबार एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त अनुशिक्षण तालिमको उद्घाटन गरेका हुन ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नागरिकहरूसँग गर्ने व्यवहारमा थप सुधार हुने उल्लेख गर्दै ट्राफिक प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी सङ्गठनकै छवि उच्च हुने भएकाले आम नागरिकलाई गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिएका थिए । जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम जनउत्तरदायी ट्राफिक प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिएका थिए ।
यस्तै नागरिक मैत्री व्यवहार, सामाजिक समावेशीकरण, लैङ्गिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृत्ति, परम्परा, भाषा तथा प्रचलनको सम्मान सहितको प्रहरी कार्य आदि विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो ।