Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थतन्त्रको समग्र अवस्थाबारे अर्थमन्त्री–परिसंघ छलफल, श्रीलंकासँग नेपालको तुलनै नहुने ठहर

अर्थतन्त्रको समग्र अवस्थाबारे अर्थमन्त्री–परिसंघ छलफल, श्रीलंकासँग नेपालको तुलनै नहुने ठहर

काठमाडौं, ५ वैशाख । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको छ । छलफलमा नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो हुन लागेको भन्ने सन्दर्भमा उक्त मुलुकसँग नेपालको तुलना नै नहुने ठहर गरिएको छ ।

उक्त अवसरमा परिसंघसँग आबद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको संचितिमा परेको चाप कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रको शुरुवातमै उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताएका थिए ।

नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको, जीडीपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको, कुल वैदेशिक मुद्रा संचितितर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलर मात्र रहेको कार्यपत्रमा उल्लेख थियो । त्यस्तै अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्र मार्फत जानकारी दिइएको थियो ।

अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मख्य सूचकाङ्कमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरे मजबुत रहेको अग्रवालले बताएका थिए । सो अवसरमा सीएनआई अध्यक्ष अग्रवालले विदेशी मुद्राको संचितिमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएका थिए ।

अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलनै नहुने कुरा आफुले बारम्बार भन्दै आएको जानकारी दिएका थिए । ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतीकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्,’ उनले भने, ‘यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x