अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्दा बिग्रँदै नेपाल व्यापार
काठमाडौं, ६ वैशाख । नेपालको अर्थतन्त्रलाई निरन्तर श्रीलंकासँग तुलना गरिरहँदा त्यसले नेपालको अन्तर्राष्ट्रिय छवि बिस्तारै धुमिल हुँदै जान थालेको छ ।
श्रीलंकासँग नेपाललाई दाँजेर कुराकानी गर्न थालेपछि त्यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा कमाएको ख्याती गुमाउँदै जाने सम्भावना बढेको अर्थविद्हरु बताउँछन् ।
अहिले नै कतिपय बैंकले खोलेको लेटर अफ क्रेडिट (एलसी) विदेशीले विश्वास गर्न थालेका छन् । तर, अहिले नेपालका नाम चलेका बैंकबाट खोलिएको एलसीलाई विभिन्न कारण देखाएर रद्द गरिरहेका छन् ।
नेपालमा वित्तीय अस्थिरता बढेको, एलसी खोल्न सरकारले रोकेको, नेपालको जोखिम बढेको भन्दै नेपाली बैंकलाई विदेशी बैंकले दिएको क्रेडिट लिमिट रोक्न थालेका छन् ।
नेपालको अर्थतन्त्रलाई सही रुपमा नसम्हाल्ने हो भने आगामी दिनमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा कमाएको छवि बिग्रने बैंकरहरु बताउँछन् । ‘बैंकबाट खोलिएको एलसीलाई विश्वास गर्न छाड्नु भनेको गम्भीर अवस्था आउन सक्छ भन्ने संकेत हो’, एक बैंकरले भने, ‘नेपालको अर्थतन्त्रलाई लिएर सबै पक्षबाट श्रीलंकासँग तुलना हुन थालेपछि विश्वबजार नेपालसँग थप सशंकित हुन थालेको छ ।’
नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाका अनुसार नेपालको एलसीलाई विश्वास नगर्ने सम्भावना बढेको छ । यसले भविष्यमा विकराल अवस्था ल्याउने उनी बताउँछन् ।
विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएपछि सरकार र केन्द्रीय बैंकले अत्यावश्यकबाहेक एलसी नखोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् । नेपालले एलसी खोल्नै रोकेको सन्देश विश्वभर प्रवाह भएपछि नेपाली विदेशी बैंकबाट पाइरहेको क्रेडिट लाइन घटाइरहेका छन् ।
नेपालसँग विदेशी मुद्रा सञ्चिति घटेर विदेशीलाई भुक्तानी नै नगर्ने अवस्था आउन सक्छ भन्ने आधारमा विदेशी बैंकले क्रेडिट लिमिट घटाएको एक बैंकरले बताए ।
श्रीलंका र नेपालको आर्थिक संकटका कारण, आयाम र प्रकृतिहरुमा धेरै भिन्नता रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् । श्रीलंकाले स्वतन्त्र विनिमय बजारको अधिक उपयोग गर्ने, क्षणिक लाभका लागि मुद्राको अवमूल्यन गर्ने, क्षमता मूल्यांकन नगरी विश्व बजारमा मौद्रिक उपकरण निष्कासन गर्ने र ऋणका लागि अति आशक्ति देखाउने गरेको छ ।
तर, नेपालले भारतसँग स्थायी विनिमय सुविधा लिएकाले मुद्राको अवमूल्यन गर्ने परिस्थिति रहँदैन । त्यसै गरी नेपालको बाह्य स्रोतको ऋणको मात्रा कुल उत्पादनमा श्रीलंकाको तुलनामा अतिन्यून छ भने स्वतन्त्र रुपले मौद्रिक उपकरणहरूको प्रयोग गरेको छैन ।
यस अर्थमा विनिमय प्रणालीमा हुन सक्ने जोखिम एवं बाह्य ऋणको दबाबबाट भने अहिलेसम्म नेपाल मुक्त रहेको नेपाल उद्योग परिसंघका पूर्वउपाध्यक्ष अनुज अग्रवाल बताउँछन् ।
अहिलेको नेपालको अवस्था बदलिएको बाह्य आर्थिक परिस्थिति र आन्तरिक अव्यवस्थाका कारणले निम्तिएको र ती कारकको प्रभावलाई समयमा नै व्यवस्थापन गर्न चुकेकाले पनि यस्तो अवस्था आएको हो ।
अर्थ व्यवस्थामा पर्ने बाह्य प्रभावलाई रोक्न आवश्यक समयमा चासो नहुनु र खस्कँदै गएपछि मात्र नीतिगत व्यवस्थाको पुनरवलोकन हुनुले समस्या लम्बिँदै गएको हो ।
तैपनि सबै निकायबाट नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गरेर व्याख्या गर्दा त्यसले नेपालको व्यापारप्रतिको धारणा नकारात्मक बन्नेतर्फ सबै गम्भीर हुनुपर्ने अर्थशास्त्री डा. समीर खतिवडा बताउँछन् ।
अर्थतन्त्रका विषयलाई लिएर अनर्गल प्रचार गर्दा सामान पठाउने मुलुकले विश्वास गर्दैनन्, बैंकले खोलेको एलसीलाई पत्याउँदैनन् । यदि यस्तो अवस्थामा मुलुक पुग्यो भने मुलुक टाट पल्टिन सक्ने खतिवडा बताउँछन् ।