ग्लोबल आईएमई बैंकको छलाङ
,
काठमाडौं, ७ वैशाख । ग्लोबल आईएमई बैंक नाफा कमाउनेमा पहिलो बनेको छ । नबिल र एनआईसी एशिया बैंकलाई उछिनेर लगातार नाफा कमाउनेमा पहिलो बनेको हो । ग्लोबल बैंकको नाफा एनआईसीको भन्दा १२ करोड रुपैयाँ बढी नाफा र नबिलभन्दा ३७ करोड रुपैयाँ बढी नाफा कमाएको छ ।
ग्लोबल बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकले अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ३ अर्ब ७२ करोड ६२ लाख रूपैयाँ खुद नाफा गरेको छ। बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख खुद नाफा गरेको थियो ।
बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढेको हो। बैंकको खुद व्याज आम्दानी ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ छ ।
नाफा बढेपनि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १.१७ रूपैयाँले घटेर २०.८८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १४९.४५ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले ९ महिनामा ३ अर्ब ६० करोड नाफा कमाएको छ। अघिल्लो वर्षभन्दा २० प्रतिशतले नाफा बढाएको हो । बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७४ अर्ब कर्जा दिएको छ । बैंकको स्वपुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ। बैंकले वार्षिक प्रति सेयर आम्दानी ४१.९४ आर्जन गर्न सफल भएको छ ।
नबिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरणअनुसार गत वर्षको तुलनामा नाफा घटेको छ। सेयर मूल्य पनि घटिरहेका बेला नाफा गत वर्षको तुलनामा ८.९१ प्रतिशतले घटेको हो । विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढे पनि खुद नाफा भने घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८२ गुणा रहेको छ ।
पछिल्लो ९ महिनामा बैंकको चुक्ता पुँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष १६.५६ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको निक्षेप ४.८१ प्रतिशत बढेको छ भने कर्जा १२.१० प्रतिशत बढेको छ ।
यसैबीच २७ बैंकहरुले चैत मसान्तसम्ममा कुल ५१ अर्ब एक करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्ष यो अवधिसम्म वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका थिए ।
औसतमा हरेक वाणिज्य बैंकहरुले एक अर्ब ८८ करोड नाफा कमाएको देखिन्छ । चैतसम्ममा ३ वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँको सिलिङ नाघेको छ । यस्तै, ११ वटा वाणिज्य बैंक औसतभन्दा धेरै नाफा कमाउन सफल छन् ।