भूगोल प्रोफाइलमार्फर्त ७५३ वटै स्थानीय निकायका सबै तथ्यांक एकैठाँउमा पाइने
काठमाडौं, २० वैशाख । विकास उद्यमीद्वारा सञ्चालित नेपाल इन डाटाले सबै ७ प्रदेश र ७५३ स्थानीय निकायहरूसँग सम्बन्धित मुख्य डाटा तथा तथ्यांकहरू समेटिएको भूगोल प्रोफाईलको प्रारम्भिक संस्करण सार्वजनिक गरेको छ। प्रयोगकर्ताहरूले आफूलाई चाहिएको प्रदेश र स्थानीय निकायहरूको जनसंख्या, अर्थतन्त्र, कृषि, उद्योग,स्वास्थ्य, शिक्षा लगायतका अन्य विभिन्न क्षेत्रका प्रमुख सूचकहरूको तथ्यांक उक्त प्रोफाईलमा हेर्न सकिने बताइएको छ । प्रयोगकर्ताहरूले आफूले छानेका प्रदेश रस्थानीय निकायका विभिन्न सूचकहरूबीच तुलना गरी विकासको हालको परिदृश्य मुल्यांकन पनि गर्न सक्छन् । उक्त भूगोल प्रोफाइलमा समावेश भएका तथ्यांकहरूलाई ग्राफ र तालिकाको सहयोगमा विश्लेशण गर्न पनि सकिन्छ साथै आफू अनुकुल प्रयोग गर्नको लागि डाउनलोड गर्न सकिन्छ।
भूगोल प्रोफाईलको माध्यमबाट तथ्यांकहरूको सहज पहुँच निर्माण गरी केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरूले गर्ने योजना निर्माण र कार्यन्वयन साथै निर्णय प्रकृयालाई सहयोग पुर्याउनु नै नेपाल इन डाटाको लक्ष्य रहेको छ । तथ्यांक हेरेर आम नागरीकहरूले स्थानीय स्तरमा भएका विकास निर्माणको निगरानी गर्न सकुन् भन्ने विश्वास यसले लिएको छ। यसका साथै मिडिया, नागरीक समाज,सामाजिक संघ संस्था, दातृ निकाय र निजी क्षेत्र समेतको योजना निर्माण र कार्यन्वयन प्रकियालाई तथ्यांकहरूका मार्फत सहयोग पुर्याउनु पनि नेपाल इन डाटाको उदेश्य रहेको छ ।
भूगोल प्रोफाईलमा समावेश भएका तथ्यांकहरू सबै आधिकारिक सरकारी स्रोतहरूबाट संकलन गरीएको जनाइएको छ । सूचकहरूको तथ्यांक नेपाल इन डाटाले केन्द्रीय तथ्यांक विभाग, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, लगायतका अन्य सरकारी संस्था तथा निकायहरूद्वारा प्रकाशित तथ्यांकहरूको प्रयोग गरी तयार पारेको हो ।
भूगोल प्रोफाईलको परिकल्पना नेपाल इन डाटाले गरेको हो र यो प्रोफाईल अस्ट्रेलियन सरकार र द एशिया फाउन्डेशनको सहकार्यमा संचालित स्थानीय सरकार सबलिकरण कार्यक्रमको सहयोगमा सम्भव भएको हो ।