सिन्डिकेट खारेजीको विरोधमा यातायात व्यावसायीको बन्द
काठमाडौं, २१ वैशाख । यातायातमा रहेको सिन्डिकेट अन्त्य गर्ने सरकारी कदमको विरोधमा यातायात व्यवसायीहरुले आज सार्वजनिक यातायात सञ्चालन ठप्प पारेका छन् । यातायात व्यवासायीको यो कदमले यात्रुहरु मारमा परेका छन् । यसअघि सरकारले व्यवसायीले यातायात सञ्चालन नगरे सार्वजनिक यातायातका साधन कब्जामा लिएर सेना र प्रहरीलाई चलाउन दिने बताएको थियो । यद्यपि सरकारले त्यो कदम चालेको भने छैन । सडकहरु सुनसान छन् भने यात्रुहरु हिंडेर गन्तव्य तर्फ लागेका छन् ।
यातायात व्यवसायीको अमानवीय कदमले विरामीहरु, विद्यार्थी तथा परिक्षार्थीहरुलाई सबैभन्दा बढी अप्ठेरो परेको छ । यातायात व्यवसायीले शुक्रबार देखि सार्वजनिक यातायातका साधन नचलाउने घोषणा गरेका थिए । लामो दूरीका सवारीसाधन भने बिहीबारदेखि नै बन्द छन् । सरकारलाई गलाउन यातायात व्यवसायीले सार्वजनिक सवारी साधन नचलाउने निर्णय गरेका हुन् । सरकारले यातायात समितिहरु दर्ता तथा नवीकरण नगर्ने भएपछि सिन्डिकेटको जरो उखेलिने त्रासमा व्यावसायीहरु छन् । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले पनि सिन्डिकेट खारेज गर्ने सरकारको कदमको स्वागत गरेका छन् ।