शेयर कारोबारमा साताको पहिलो दिन उभार
काठमाडौं, ११ वैशाख । लगातार घटेको शेयर बजारमा साताको पहिलो दिन नै उभार आएको छ । चुनाव लक्षित अर्थतन्त्र चलायमान हुने संकेत देखिँदा शेयर बजारमा आइतबार दोहोरो अंकको उच्च बिन्दुले बढेको हो ।
गत साताको अन्तिम दिन बिहीबार कारोबारको अन्तिम समयमा आएर बजार बढेर बन्द भएको थियो । आइतबार शेयर अंकसँगै कारोबार रकममा समेत बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।
शेयर बजार बढ्न थालेसँगै २४२०.९१ अंकमा टेको लिएर बजार बढ्ने संकेत देखिएको छ । आइतबार एकदर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सबैजसो कम्पनीको शेयर मुल्य बढेको स्टक एक्सचेञ्जको तत्थ्यांकमा देखिएको छ ।
आइतबार नेप्से परिसूचक ९५.४६ अंकले बढेको छ । यो अघिल्लो दिनको तुलनामा ४.११ प्रतिशत बढी हो । कूल २३८ कम्पनीको ४३ हजार ४५० कारोबारबाट २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँ बराबरका ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबे भए ।
सरकारले आयातमा कडाइ गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरुमा निक्षेप बढेकाले पनि शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेको अर्थ जानकार नवराज गौतमको भनाई छ ।
सरकारले महँगा वस्तुको एलसी खोल्न कडाइ गरेसँगै बैंकहरुमा निक्षेप बढेको हो ।
चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आंकलन हुन थालेपछि बजार बढ्ने संकेतहरु देखिएपछि पुनः शेयर बजारमा लगानीकर्ता फर्किन थालेको अर्थजानकार गैतमले बताए ।
२०७९ को सुरुवातदेखि नै शेयर बजारले खराब सुरुवात गरेको थियो । पहिलो दिनको कारोबार २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा आएको भने नयाँ वर्ष ०७९ को दोस्रो दिनको कारोबारमा पनि भारी गिरावट आएको र तेस्रो दिनको कारोबारमा भने बजार पर्ख र हेरको अवस्थामा रहेको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।