Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि

पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि

काठमाडौं, २४ वैशाख । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको छ ।
पर्यटकीय सिजन र निर्वाचनका कारण आन्तरिक उडानमा उत्साह छाएको हो । आन्तरिकतर्फ सबै उडानमा ९५ प्रतिशतसम्म हवाई यात्रा भएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

आन्तरिक हवाई यात्रुमा उल्लेख वृद्धि आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको भनाइ छ । कार्यालयका अनुसार मार्च महिनामा मात्रै ४ लाख ३५ हजार भन्दा बढीले आन्तरिक हवाई यात्रा गरेका छन् । यो एकै महिनामा आन्तरिक उडानको सबैभन्दा धेरै यात्रु संख्या हो ।

विमानस्थल कार्यालयका अनुसार यो वर्ष नै आन्तरिक हवाई यात्रुको संख्या ५० लाखको हाराहारीमा पुग्ने अनुमान समेत गरिएको छ । अप्रिल र मे महिनामा हवाई यात्रुको चाप बढी रहेको विमानस्थल कार्यालयको भनाइ छ ।

सन् २०२० को ३ महिनामा मात्रै ११ लाख ५० हजार ३ सय ३४ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जनवरीमा ३ लाख ५० हजार ७ सय ४९ जना हवाई यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए । यो संख्या फेब्रुअरीमा बढेर ३ लाख ६३ हजार ८ सय ३५ पुगेको हो ।

मार्चमा आन्तरिक हवाई यात्रुको संख्या उल्लेख वृद्धि भएको विमानस्थल कार्यालयको भनाइ छ । मार्च महिनामा मात्रै ४ लाख ३५ हजार ७ सय ५९ जनाले आन्तरिक हवाई यात्रा गरेको तत्थ्यांकले प्रष्ट पारेको छ । फेब्रुअरी महिनाको तुलनामा मार्चमा झन्डै ७२ हजारको संख्यामा आन्तरिक हवाई यात्रु बढेका हुन् ।

आन्तरिक उडानमा अहिले बुद्ध, यती, श्री, गुण, सौर्य, तारा, सिता र समिट एयरले उडान गर्दै आएका छन् । पर्यटकीय सिजन र निर्वाचनका कारण यात्रुको संख्या बढेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

यसैगरी निर्वाचनका कारण पनि आन्तरिक हवाई यात्रा गर्नेको संख्या बढेको प्रष्ट भएको छ । योसँगै विवाहको सिजन र कष्टकर सडक यात्राले पनि हवाई यात्रुको संख्या बढाएको हो ।

यसबाहेक कोभिडपछि हवाई यात्रा नै बढी सुरक्षित रहेको महसुस भएका कारण पनि लामो यात्रा गर्नेले हवाई यात्रा गर्न थाल्दा यात्रुको संख्या बढेको अर्थजानकार नवराज गौतम बताउँछन् ।

बुद्ध एयरले अहिले दैनिक ७३ वटा उडान गरिरहेको र ९५ प्रतिशत भन्दा बढी हवाई यात्रा रहेको हो । बुद्ध एयरले मात्रै दैनिक सरदरमा ८ हजार ५ सयभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ । बुद्ध एयरसँग १६ वटा जहाज छन् ।

यसैगरी यती एयरका प्रवक्ता सुदर्शन बर्तौला पनि हवाई यात्रा गर्ने यात्रुको संख्या बढेको जानकारी दिए । यतीको एयरको सबै उडानमा ९५ प्रतिशतसम्म हवाई सेवा रहेको छ ।

यसैगरी श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मान्नधर पनि हवाई यात्रा गर्नेको संख्या बढ्नुमा पर्यटकीय सिजन, निर्वाचन र विवाहको सिजनका कारण पनि आन्तरिक हवाई उडानमा उत्साह देखिएको हो ।

गुण एयरका बजार व्यवस्थापक प्रज्वल थापा पनि हवाई यात्रुको संख्यामा उल्लेख वृद्धि आएको बताए ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै सेक्टरमा हवाई यात्रु बढेको विमानस्थल कार्यालय महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x