इच्छाराज तामाङको सीटीसी मल लिलामीमा : लिलामी मूल्य कती अर्ब पर्ला ?
काठमाडौं, २६ वैशाख । सिभिल ग्रुपका अध्यक्ष व्यवसायी इच्छाराज तामाङको सीटीसी मलका कबलहरू लिलामीका लागि कर्मचारी सञ्चय कोषले सूचना निकालेको छ । तामाङले कोषको ठूलो रकम नतिरेपछि लिलामीका लागि सूचना निकालिएको हो ।
६ रोपनी क्षेत्रफलमा फैलिएको ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त मलमा १३२ ओटा सटरहरू लिलामीमा राखिएको हो ।
कोषले लिलामीका लागि ३५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सोमबार सूचना निकालेको छ । कोषले सबै सटर सहितको भवन लिलामीको सूचना प्रकाशित गरेको हो ।
ठगी अभियोगमा अहिले जेलमा रहेका तामाङको सीटीसी मलमा ५० प्रतिशत स्वामित्व रहेको छ । मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन् ।मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् । कोष स्रोतमा अनुसार कम्पनीले लिएको ऋणको नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि लिलामी सूचना निकालिएको हो ।
आजभन्दा डेढ वर्ष अघि नै सिटीसी मलको बजार मूल्य पौने ७ अर्ब रुपैयाँ रहेको थियो । पछिल्लो एक वर्षमा घरजग्गाको मूल्य १० प्रतिशतले वृद्धि हुँदा पनि यसको बजार मूल्य करीब साढे ७ अर्ब रुपैयाँ हुने देखिन्छ । अब सो मलको लिलामी मूल्य कती चासोको विषय बनेको छ ।