गाडी आयात महिनामै ४ अर्बले घट्यो
काठमाडौं, १० जेठ । सरकारले विदेशबाट सवारीसाधन ल्याउन कडाइ गर्दा एकै महिनामा ४ अर्ब रुपैयाँले आयात घटेको छ ।
चालू आर्थिक वर्षमा मासिक औसत ९ अर्ब बढीको आयात हुँदै आएकोमा वैशाखमा ह्वात्तै घटेको हो । वैशाखभरिमा जम्मा ७८ वटा विद्युतीय गाडी भित्रिएका छन् ।
सरकारले डलर सञ्चितिमा कमी आएको भन्दै गाडी आयातमा रोक लगाएको छ । त्यसको असर समग्र अटो बजारमा देखिएको छ। सरकारले विद्युतीय गाडीलाई आयात खुल्ला गरे पनि गाडी भित्रिनसकेका छैनन् ।
भन्सार विभागको तथ्यांकअनुसार १० महिनामा ८७ अर्ब रुपैयाँबराबरको सवारीसाधन आयात भएको छ । जब कि साउनदेखि चैतसम्म ८२ अर्ब रुपैयाँको आयात भएको थियो । ९ महिनामा ८२ अर्बको आयात हुँदा वैशाखमा जम्मा ५ अर्बको मात्रै आयात भएको हो। यो भनेको औसतमा मासिक ९ अर्ब बढी हो ।
राष्ट्र बैंकले गत पुसमा गाडी आयातको लागि एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। योसँगै व्यवसायीले एलसी खोल्न कम गरेका थिए । चैतमा वाणिज्य बैंकहरुले सवारीसाधनलगायतको वस्तुमा एलसी नै नखोल्ने निर्णय गरे। सरकारले औपचारिक रुपमा वैशाखमध्यबाट विद्युतीयबाहेकका गाडी आयात असार मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै १५ वटा एचएसकोडका सवारीसाधनको आयातका लागि एलसी खोल्न बन्द गरेको छ । अटो व्यवसायीले पुसदेखि नै मार्जिन राख्नुपर्ने व्यवस्थाले एलसी कम खुल्दा अहिले आयात खुम्चिएको बताएका छन् ।
अहिले विद्युतीय सवारीसाधन, २५० सीसीसम्मका मोटरसाइल, ढुवानीका गाडीको एलसी खोल्न पाइन्छ । तर राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था यथावत् राखेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा १५ सय सीसीसम्मका पेट्रोल इन्जिनका गाडी ८ हजार २५८ वटा आयात भएका छन् । गत चैतसम्मका ७ हजार ६३५ गाडी आयात भएका थिए । वैशाख महिनामा १५ सय सीसीसम्मका ६२३ वटा गाडी नेपाल भित्रिएका छन् ।
१५ सयदेखि २ हजार सीसीसम्मका १९७ गाडी र ३ हजार सीसीसम्मका २६ वटा आयात भएको विभागले उल्लेख गरेको छ । चैतसम्म १९० वटा गाडी आयात भएका थिए। एक महिनामा जम्मा ७ वटा गाडी भित्रिएका छन् ।
वैशाखसम्म डिजेल इन्जिनका १५ सय सीसीसम्मका ४२२ वटा आयात भएका छन् । १५०० देखि २५००० सम्मका १०८० गाडी आयात भए भने चैतसम्म ९८० गाडी आयात भएका थिए ।
२५०० सिसि माथीका १८७ गाडी आयात भएका छन् । पेट्रोल–इलेक्टिक हाइब्रिड गाडी १६ वटा भित्रिएका छन् ।