इम्बोस्ड नम्बर प्लेट राख्न दण्ड जरिवानाको डर देखाउनु घातक – गगन थापा
काठमाडौं, २३ जेठ । नेपाली कांग्रेस नेता तथा महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको निर्णयको आलोचना गरेका छन ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महामन्त्री थापाले यातायात मन्त्रालयले आम नागरिकलाई धम्कीपूर्ण निर्देशन दिएको भन्दै आपत्ति जनाए । उनले दण्ड जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने खोजेको भन्दै आपत्ति जनाएका हुन ।
नामाकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ ।
समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका इम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार बेहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर जडानमा सस्तो र गुणस्तरीय पनि कायम गर्नुपर्ने उनले बताएका छन ।