विप्रेषणबाट दीर्घकालीन लाभ सृजना गरौं
–सुमन पोखरेल
सामान्यतया कुनै एक ठाउँबाट कुनै पनि प्रयोजनका लागि अर्काे ठाउँसम्म पठाइने रकमलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । त्यसमध्ये पनि प्रायः विदेशबाट पठाइने रकमलाई विप्रेषणको रूपमा आम मानिसले बुझ्ने गरेका छन् । वास्तवमा विदेशमा कार्यरत श्रमिकले आफ्नो मुलुकमा प्रवाह गर्ने पूँजी हो विप्रेषण । वैदेशिक रोजगारीका लागि विश्वभर विभिन्न मुलुकमा श्रमशक्ति अर्थात् जनशक्ति खपत हुने गर्दछन् । वैदेशिक रोजगारीमा जाने र विप्रेषण आय भित्र्याउने मुलुकमा नेपाल अगाडि नै रहेको छ ।
वर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषणले धानिरहेको अवस्था छ । नेपालबाट अन्तर्राािष्ट्रय श्रम बजार (विशेषगरी श्रम सम्झैता भएका मुलुक)मा माग र आवश्यकता अनुरूप युवा जनशक्ति आधिकारिक रूपमा जाने गरेका छन् । नेपाली श्रमिकको रोजगारीका आकर्षक गन्तव्यका रूपमा कोरिया, कतार, मलेसिया, दुबई, साउदी अरब, कुबेत, बहराइन, इजरायल, जापान लगायत मुलुकहरू रहेका छन् । साथै, अमेरिका, अस्ट्रेलिया, क्यानडासहित विभिन्न यूरोपेली मुलुकमा समेत पछिल्लो समय धेरै नेपाली रोजगारका लागि पुगेका छन् ।
विप्रेषणले शहरदेखि ग्रामीण तहसम्म आर्थिक गतिविधि चलायमान भएको छ । विगतमा आन्तरिक द्वन्द्व र न्यून आर्थिक वृद्धिको परिस्थितिमा पनि विकासका सामाजिक सूचकहरू, जस्तै– औसत आयु, साक्षरता दर र बालबालिकाको विद्यालय भर्नामा विप्रेषणकै कारण उल्लेख्य सुधार भएको तथ्यांकहरूले देखाएका छन् ।
नेपालको वैदेशिक रोजगारीमाथिको निर्भरता दिनहुँ बढिरहेको छ । देशको विद्यमान राजनीतिक तथा आर्थिक परिवेशमा वैदेशिक रोजगारीको विकल्प तत्काल खोज्न सकिने अवस्था पनि छैन । वैदेशिक रोजगारीबाट देशले पाएको मुख्य फाइदामध्ये एक विप्रेषण नै हो । विकासोन्मुख मुलुकहरूमा विप्रेषण आयलाई आर्थिक विकासको बहसको केन्द्रबिन्दु र विकासको रणनीतिका रूपमा लिने प्रचलन बढेको देखिन्छ ।
नेपालको सन्दर्भमा विप्रेषणले गरिबी घटाउन र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ठूलो टेवा पु¥याउनु नै ठूलो उपलब्धि हो । वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरणमा परिणत गरेको छ । नेपालको अर्थतन्त्रलाई उकास्न यसले महत्वपूर्ण योगदान पु¥याएको छ । जीडीपीमा विप्रेषणले २९ प्रतिशतभन्दा बढी योगदान गरेको छ ।
विश्व बैंकको पछिल्लो क्षेत्रीय प्रतिवेदनअनुसार नेपालमा जीडीपीको एक चौथाइ हिस्साभन्दा धेरै विप्रेषण आउँछ, जुन दक्षिण एसियामै सबैभन्दा बढी छ । गत आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा ९ खर्ब ६१ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
विप्रेषण विभिन्न आयामबाट उपयोग भइरहेको छ, जसमा राष्ट्रिय बचत बढाएको छ भने चालू खाता सन्तुलनमा राख्न सहयोग पुगेको छ । अहिलेको बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनको आधार नै विप्रेषण बनेको छ । विप्रेषण घट्दा बैंक तथा वित्तीय संस्थामा तरलता संकटको अवस्था आएको छ । विप्रेषणले गरिबी मात्रै नघटाएर विभिन्न निजी तथा सरकारी क्षेत्रमा ठूलो योगदान गरेको छ ।
वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले नेपालको अर्थतन्त्र धाने पनि वैदेशिक रोजगारमा जानेहरूलाई सरकारले खासै महत्व दिएको पाइँदैन । मुलुकको अर्थतन्त्रलाई ठूलो भरथेग गरेको विप्रेषण पठाउने जनशक्तिलाई सरकारले पनि विशेष रूपमा हेर्नुपर्छ ।
विप्रेषणको उचित व्यवस्थापन गर्न सरकारी स्तरबाटै स्पष्ट नीति अत्यावश्यक छ । साथै पछिल्लो समय विप्रेषणलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन सरकारी तवरबाट विभिन्न पहल भइरहे पनि अझै पनि पूर्णरूपमा औपचारिक प्रणालीबाट भित्रिन सकेको छैन । औपचारिक माध्यमबाट पैसा पठाउनेहरूको ठूलो हिस्सा भए पनि हुण्डीको प्रयोग पनि कायमै रहेकाले विप्रेषण प्रवाहलाई सहज बनाउन सरकारले थप प्रयास गर्नुपर्ने आवश्यकता छ । औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन आकर्षक ब्याज तथा अनुदानको व्यवस्था गर्नुपर्छ । सरकारले विदेश जाने श्रमिकलाई लक्षित गरी जारी गरेका ऋणपत्र प्रभावकारी हुन सकेको देखिँदैन । विप्रेषण व्यवस्थापनमा निजी क्षेत्रबाट राम्रा प्रयास भएकाले अब सरकार एक कदम अघि बढेर त्यसको नेतृत्व लिनुपर्छ ।
विप्रेषणबाट आर्थिक सामाजिक स्तर सुधार हुँदै गर्दा यसलाई कसरी दिगो रूपमा भित्र्याउन र यसबाट दीर्घकालीन लाभ लिन सकिन्छ भन्ने महत्वपूर्ण सवाल हो । नेपालबाट अधिकांश श्रमिक छोटो अवधिका कामका (विशेषगरी निर्माणको क्षेत्रमा) गएकाले गन्तव्य मुलुकबाट निश्चित वर्षपछि फर्किनुपर्ने अवस्था आउँछ । त्यसो हुँदा सीप र दक्षतायुक्त काममा श्रमिकलाई पठाउनुपर्ने खाँचो छ । साथै कामको विविधीकरण र विकसित मुलुकमा श्रम बजारको खोजी गर्नुपर्छ । विशेषगरी सुरक्षित र लाभयुक्त वैदेशिक रोजगारीको अवसरमा वृद्धि गरिनुपर्छ । वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकको माग र आवश्यकता अनुरूप नेपाली श्रमिकको सीप विकास गर्न सके ठूलो परिमाणमा विप्रेषण बढाउन सकिन्छ ।
यसैगरी सरकारले विदेश जानुअघि नै श्रमिकलाई विभिन्न उद्योगधन्दा, बैंक तथा वित्तीय संस्थामा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने कार्यक्रम ल्याउनुपर्छ । यसका लागि विदेश प्रस्थान गर्नुपर्ने नीति नियम परिवर्तन गरी सुधार ल्याउनुपर्छ । नेपालले अर्बौंको कृषिउपज आयात गर्ने भएकाले कृषि क्षेत्रमा लगानी गरेर पनि विप्रेषणबाट दीर्घकालीन लाभ हासिल गर्न सकिन्छ ।
यसका लागि स्थानीय तह, संघीय सरकार, बैंकिङ क्षेत्रसँग समन्वय गरेर कसरी सदुपयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ । विभिन्न देशमा रहेका श्रमिकले विदेशबाट पठाउको विप्रेषण उद्योग, पूर्वाधार विकास लगायत क्षेत्रमा परिचालन गर्ने प्रोत्साहन गर्नुपर्छ । मुख्यतः उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गरी विप्रेषणको सदुपयोग गर्न सकिन्छ ।
दीर्घकालीन रूपमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको शीप, दक्षता र अनुभव स्वदेशमै प्रयोग हुने किसिमको सहयोगी कार्यक्रम तथा योजना ल्याउनुपर्छ । स्वदेश फर्किएका कामदारलाई सामाजिक तथा आर्थिक पुनःएकीकरणका कार्यक्रममार्पmत स्वरोजगार हुने वातावरण सृजना गर्नु आवश्यक छ । यस्तै वैदेशिक रोजगारी सुरक्षित र स्वैच्छिक बनाउने, मुलुकमा भित्रिने विप्रेषणलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने वातावरण तयार गरेर बहुआयामिक लाभ लिन सकिन्छ ।
विदेशमा रहेका श्रमिकले विप्रेषणस्वरूप पठाउने ठूलो रकम ऋण तिर्न, खाद्य उपभोग, शिक्षा, स्वास्थ्य र अन्य घरायसी कार्यमा खर्च हुने गरेको छ । विप्रेषण रकमको ठूलो हिस्सालाई कसरी बचत वा लगानीका क्षेत्रमा बढाउन सकिन्छ भन्नेतर्फ पनि सोच्नुपर्छ । यद्यपि यसमा चुनौती भने छ । विप्रेषणको रकम बचत गर्न अग्रसर गराउने, वित्तीय संयन्त्रको पहुँच बढाएर ससाना व्यवसाय गर्न अभिप्रेरित गरी रोजगारी सृजना गर्न सकिन्छ । यसका लागि ठोस योजना बनाई उनीहरूकै पूँजी निर्माण गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्न सके विप्रेषण दिगो लाभ हासिल गर्ने माध्यम बन्छ ।
नेपालको अर्थतन्त्र र जनजीविकामा निकै महत्व राख्ने विप्रेषण बढाउन प्रणालीगत सुधारको पनि खाँचो छ । वैदेशिक रोजगारीमा जाने श्रमिक आपूर्तिका क्रममा रहेको लामो प्रक्रियाका कारण वैदेशिक रोजगारीलाई बढी लाभयुक्त बनाउन सकिएको छैन, यसमा समेत सुधार गर्नुपर्छ ।
(पोखरेल नेपाल रेमिटर्स एशोसिएशनका पूर्व अध्यक्ष हुन्)