मर्जरका लागि लुम्बिनी जनरल इन्स्योरेन्सले असार २९ गते लाई डाक्यो साधारणसभा
काठमाडौं, २२ असार । लुम्बिनी जनरल इनस्योरेन्सले मर्जरको प्रस्ताव सहित साधारणसभा डाकेको छ । असार ८ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने समय तोकेको हो ।
सभा असार २९ गते अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे हुने कम्पनीले बताएको छ ।
सभामा चुक्ता पुँजी वृद्धि गर्न अन्य कुनै कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा जाने विशेष प्रस्ताव रहेको छ । सभामा कम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट वृद्धि गरि ३ अर्ब र्पुयाउने विशेष प्रस्ताव छ ।
कम्पनीको हाल रहेको चुक्ता पुँजी एक अर्ब १९ करोड ८८ लाख रुपैयाँबाट वृद्धि गरि १ अर्ब ३१ करोड २७ लाख रुपैयाँ र्पुयाउने कम्पनीले जनाएको छ । सो प्रयोजनको लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफामध्ये चुक्ता पुँजीको ९.५ प्रतिशतले हुन आउने ११ करोड ३८ लाख ९५ हजार बराबरको बोनस सेयर वितरण गर्ने र बोनस सेयर वितरण गर्दा फ्रयाक्सनमा आउने सेयरलाई पछि समायोजन गर्ने गरि यथावत राख्ने प्रस्ताव छ ।
सभामा संचालक समितिको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदनमा छलफल हुनेछ । बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.५ प्रतिशतले हुन आउने ५९ लाख ९४ लाख नगद लाभांश स्वीकृत गर्ने उल्लेख छ ।
प्रबन्धपत्रको प्रस्तावित संशोधन सम्बन्धि निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने छ।संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ४ जना संचालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव छ ।
कम्पनीले असार १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीका अनुसार १४ गते सम्म नेप्सेमा कारोबार भएका सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन्।