Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तालिम हब बन्न सक्छ नेपाल

तालिम हब बन्न सक्छ नेपाल

–डा. राजन खनाल

क्षमता विकासको सन्दर्भ र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भूमिका
तालिम भनेको जनशक्तिको क्षमता विकास गर्ने एउटा महत्वपूर्ण उपाय हो । देशमा सक्षम जनशक्ति उत्पादन गरी बजारको माग अनुरूप परिचालन गर्नका लागि तालिमको महत्वपूर्ण भूमिका रहन्छ । तालिमले व्यक्तिको ज्ञान, सीप एवम् व्यावसायिक दक्षता अभिवृद्धि गर्दछ । बजारको माग के छ, सो अनुरूपको शिक्षा एवम् कार्यदक्षता व्यक्तिसँग छ कि छैन भन्ने कुराको विश्लेषणबाट मुलुकमा दक्ष जनशक्तिको माग र पूर्तिको आकलन गरी क्षमता विकासको आवश्यकता पहिचान गर्नुपर्ने हुन्छ ।

समय र परिस्थिति अनुरूप मुलुकको विकास योजना कार्यान्वयन गर्नका लागि दक्ष जनशक्तिको आवश्यकता रहन्छ । सूचना प्रविधिको विकास र उपयोगिताले पनि यस्तो आवश्यकता बढाइरहेको हुन्छ अर्थात् नयाँ प्रविधि अपनाउनका लागि कर्मचारीको क्षमता अपडेट (दुरुस्त) गर्नुपर्ने हुन्छ । त्यसैगरी, विश्वव्यापीकरणको यो युगमा विभिन्न देशहरूका बीचको अन्तरसम्बन्ध सुदृढ गर्नका लागि पनि कूटनैतिक लगायत व्यावसायिक दक्षता अभिवृद्धि गर्नुको विकल्प रहन्न ।

मुलुकको समग्र दक्षताको विषयलाई हेर्ने भनेको मुलुकको राष्ट्रिय योजनाले नै हो । हामीसँग कस्तो किसिमको जनशक्ति छ, त्यो जनशक्तिले के–के काम गर्न सक्छ, मुलुकभित्रै रोजगारी पाउँछ कि पाउँदैन, मुलुकभित्र वा विदेशमा काम पाउनको लागि कस्तो किसिमको सीप चाहिन्छ भन्ने यावत् सवालहरू योजनामा नै उल्लेख गर्नुपर्ने हुन्छ । योजनाको लक्ष्य प्राप्तिका लागि सम्बन्धित मुलुकका सरकारहरूले दक्षता अभिवृद्धि गर्न विभिन्न विषयक्षेत्रका तालिम केन्द्रहरूको स्थापना गरेका हुन्छन् । त्यस्तै तालिम केन्द्रहरूमध्ये नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान पनि एक हो । नेपालमा सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थापनका विभिन्न आयाममा कर्मचारी, जनप्रतिनिधि एवम् सरोकारवालाहरूको क्षमता विकास गर्नका लागि करिब चार दशकअघि देशकै अग्रणी तालिम प्रदायक संस्थाको रूपमा स्थापित यस प्रतिष्ठानलाई तालिम केन्द्रहरूको पनि तालिम केन्द्रको रूपमा चिनिन्छ ।

प्रतिष्ठानले सेवाप्रवेश, सेवाकालीन र कार्यकारी विकास कार्यक्रम जस्ता क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दछ । त्यसैगरी, विभिन्न विषयमा छोटो अवधिका तालिमहरू र प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्दछ । साथै, तालिमको प्रभावकारी सञ्चालन र सिकाइ उपलब्धिको अध्ययन गर्ने र सिकाइको विधि, पद्धति एवम् शैलीमा समय सापेक्ष आएका परिवर्तनलाई अध्ययन अनुसन्धान गरेर सोही अनुरूप तालिमलाई परिष्कृत गर्ने अभ्यास रहेको छ । जनशक्तिको दक्षता अभिवृद्धिमार्फत मुलुकको सार्वजनिक प्रशासनलाई सुदृढ गर्नका लागि प्रतिवद्ध सिकाइ संगठनको रूपमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई लिने गरिन्छ ।

भूमण्डलीकरणको वर्तमान सन्दर्भमा तालिमलाई कुनै मुलुक विशेषको दायरामा मात्र राखेर हेर्न सकिँदैन । सिकाइ र दक्षता अभिवृद्धिको प्रयासहरू अन्तराष्ट्रियस्तरमा विस्तार भइसककेको छ, जसले गर्दा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्न र सिकाइ आदान–प्रदान गर्ने कार्यमा सहकार्य गर्ने प्रशस्त अवसरहरू हामीसँग छन् । नेपालको सन्दर्भमा कुरा गर्दा हामी यस्तो ठाउँमा छौं, हामीसँग उत्तर र दक्षिणतर्फ ठूला अर्थतन्त्र भएका छिमेकी मुलुकहरू छन्, जुन हाम्रा लागि क्षमता विकासका कार्यक्रमहरू विस्तार गर्ने ठूलो बजार पनि हो । यसले संस्थागत पहिचान एवम् आयस्रोतको विविधीकरण गर्नमा समेत योगदान पु¥याउन सक्छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हालका वर्षहरूमा भारत, बङ्गलादेश र चीनका समान प्रकृतिका तालिम प्रदायक संस्थाहरूसँग सहकार्य गरिरहेको छ । यस्तो सहकार्यबाट तालिमको गुणस्तर अभिवृद्धि गर्न र संस्थागत सिकाइको दायरा फराकिलो पार्न मद्दत मिलिरहेको छ ।

त्यसैगरी, प्रतिष्ठानले स्वदेशी र विदेशी विश्वविद्यालयहरूसँग क्षमता विकास, अध्ययन एवम् अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले संस्थागत समझदारी (एमओयू) गरी तदनुरूप कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । अमेरिका, जापान तथा कोरिया जस्ता मुलुकका विश्वविद्यालयहरूसँगको सहकार्य अनुरूप विभिन्न विषय क्षेत्रमा हुने अध्ययन अनुसन्धान र प्रशिक्षक÷प्रशिक्षार्थी आदानप्रदान कार्यक्रममा हाम्रा जनशक्तिहरू संलग्न भई सिक्ने र त्यहाँका जनशक्ति पनि नेपालमा आएर अध्ययन गर्ने अवसर सिर्जना भइरहेको छ । यसबाट अध्ययन अनुसन्धानका विधि, पद्धति एवम् तालिम सञ्चालनका तरिकाहरूका बारेमा एकआपसमा सिकाइ आदान प्रदान हुन्छ । साथै, क्षमता विकासका कार्यक्रमहरूमा हुने कमीकमजोरीमा सुधार ल्याई गुणस्तर अभिवृद्धि गर्नमा सहयोग पुगिरहेको छ । प्रतिष्ठानले यस्तो सहकार्यको दायरा निरन्तर विस्तार गर्दै लगेको छ ।

क्षमता विकासमा मार्केटिङ ः आवश्यकता र अभ्यास
निजी क्षेत्रमा कार्यरत जनशक्तिको प्रशासनिक तथा अन्य प्राविधिक सीप विकास गर्नका लागि सम्बन्धित संस्था आफैंले पनि तालिम दिने गरेका छन् । विषयवस्तु र सिकाइ उद्देश्य अनुरूपको आफ्नै तालिम केन्द्र नहुँदा अन्य सम्बन्धित तालिम केन्द्रबाट पनि तालिम दिने व्यवस्था छ । निजी क्षेत्रका कतिपय संस्थाको आग्रह अनुरूप प्रतिष्ठानले पनि विभिन्न विषयमा प्रशिक्षण सञ्चालन गर्ने गरेको छ । सार्वजनिक क्षेत्रको कुरा गर्दा नेपालमा स्वायत्त संस्थाको रूपमा प्रशिक्षण प्रतिष्ठानहरू र नेपाल सरकारका विभिन्न मन्त्रालयका विभागीय तालिम केन्द्रहरू क्रियाशील छन् । त्यसैगरी, सुरक्षा निकायका पनि आफ्नै तालिम संस्थाहरू रहेका छन् । नेपालमा निरन्तर धेरै संख्यामा तालिम दिने संस्थामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि पर्दछन् । ती सुरक्षा निकायहरूको अनुरोधमा व्यवस्थापनसम्बन्धी तालिम कार्यक्रम प्रतिष्ठानले सञ्चालन गर्दै आएको छ । त्यसैगरी बैंक, वित्तीय संस्था लगायतका विभिन्न संगठित संस्थाहरूको लागि तालिम आवश्यकता पहिचान गरी तालिम दिने गरिन्छ ।

प्रतिष्ठानले नेपाल सरकारले उपलब्ध गराउने वार्षिक अनुदानबाट सरकारी निकायका कर्मचारीलाई नियमित रूपमा तालिम प्रदान गरिरहेको छ । साथै, संगठित सार्वजनिक संस्थाहरूको अनुरोधमा सशुल्क तालिम पनि सञ्चालन गर्दै आएको छ । यस्ता सःशुल्क कार्यक्रमहरू प्रतिष्ठानको आन्तरिक आय आर्जनको स्रोत पनि हो, जसले वार्षिक बजेटमा उल्लेख्य योगदान गरेको हुन्छ । साथै, प्रतिष्ठानमा रहेका तालिम हलहरू आफ्नो उपयोगमा नरहेका बेला क्षमता विकास सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका लागि अन्य संस्थाहरूलाई भाडामा पनि दिने गरिएको छ, जुन अर्को आन्तरिक आयस्रोत हो । सार्वजनिक संस्थाहरू सरकारको मात्र भर परेर हुँदैन, आत्मनिर्भर हुनुपर्छ र खर्च गर्ने क्षमता पनि वृद्धि गर्नुपर्छ भन्ने मान्यता हुनुपर्छ । त्यसो भयो भने सरकारले त्यस्ता संस्थालाई उपलब्ध गराउने वित्तीय स्रोतको कुशलतापूर्वक परिचालन गर्न सक्दछ ।

क्षमता विकासमा नयाँ सोच ः तालिम हबको रूपमा नेपाल
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले दक्षिण एशियाली मुलुकहरूका तालिम प्रदायक संस्थाहरूको सहभागितामा शासकीय व्यवस्थापन तथा सार्वजनिक नीति सम्बन्धी समसामयिक विषयवस्तुमा बृहद् छलफल गर्ने उद्देश्यले वार्षिक सम्मेलनको आयोजना गर्ने गरेको छ । यस्तो कार्यक्रममा आयोजक संस्थाका प्रबुद्ध व्यक्तित्वहरू, सरकारी निकायका प्रतिनिधि, नीति निर्माता, प्राध्यापन तथा प्रशिक्षणको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहने गर्दछ । दक्षिण एसियाली अन्य मुलुकले आयोजना गर्ने यस्ता फोरमहरूमा हामी पनि सहभागी हुन्छौं ।

हामीले भारत, बङ्गलादेश लगायतका मुलुकहरूमा प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई तालिम लिन पठाएका छौं । त्यहाँका प्रतिनिधिलाई पनि यहाँ बोलाएका छौं । यस्ता प्रयासबाट हामीले तालिम प्रतिष्ठानहरू तथा समग्र मुलुकलाई नै अन्तर्राष्ट्रिय तालिम हबको रूपमा विकास गर्न सक्छौं । हामी आफैंले प्रत्यक्ष रूपमा तालिम दिएर र हामीले तालिम दिएका प्रशिक्षक वा स्रोतव्यक्तिहरूले हाम्रो तालिमको विषयमा अनुभव आदान प्रदान गरेर पनि यस्तो हब विकास गर्ने अवसर हुन्छ । उदाहरणका लागि नेपाली सेनाले सञ्चालन गर्ने विशेष तालिम कार्यक्रममा विभिन्न मित्रराष्ट्रहरूबाट सहभागी हुने गरेको छन् । ती सहभागीहरूलाई प्रतिष्ठानले पनि नेतृत्व तथा व्यवस्थापकीय सीप विकासको तालिम प्रदान गर्दछ । यस्ता कार्यक्रमबाट एक देशमा सिकेका कुराहरू अर्काे देशमा आदानप्रदान हुनुका साथै त्यसले हाम्रो संस्थाको पहिचानलाई पनि विश्वमा फैलाउन सहयोग गर्दछ ।

तालिम र पर्यटन सँगसँगै ः पर्यटन प्रवद्र्धन एवम् आयआर्जनमा जोड
पर्यटन मुलुकको अर्थतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भ हो । हाल विश्वमा क्षमता विकासका कार्यक्रमहरू पनि पर्यटनको महत्वपूर्ण माध्यम बन्दै गएको देखिन्छ । उदाहरणका लागि सिंगापुर, थाइल्याण्ड, मलेशिया जस्ता देशहरूले तालिम एवम् क्षमता विकासका कार्यक्रमहरूलाई पर्यटनसँग आबद्ध गरिरहेका छन् ।

तालिमको माध्यमबाट बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्छ । किनभने तालिमका लागि एउटा देशबाट अर्काे देशमा जानुपर्ने काम आफैंमा पर्यटकीय गतिविधिसँग पनि जोडिएको हुन्छ । कुनै तालिम तथा सेमिनार हामीले नेपालमा गरेका छौं भने त्यहाँ विदेशीहरूको उपस्थिति हुन्छ । उनीहरूले नेपालमा रहँदा जीवनयापन र किनमेल लगायतमा विभिन्न खर्च गरेका हुन्छन् । अझ, कुनै पर्यटकीय स्थानमा तालिम सञ्चालन गरियो भने त्यहाँको पर्यटन व्यवसाय फस्टाउन समेत प्रत्यक्ष सहयोग पुग्ने गर्छ । साथै, त्यस्ता विशेष पर्यटकीय क्षेत्रको ती विदेशीहरूले प्रचार प्रसार पनि गर्छन्, जसबाट नेपालका त्यस्ता गन्तव्यहरूमा घुमफिर गर्न सम्बन्धित देशका अन्य पर्यटकहरू पनि आउँछन् । यसले अर्थतन्त्रमा प्रत्यक्ष सहयोग पुग्न सक्छ ।

हाम्रो देशको प्राकृतिक दृश्य देखेर पनि विभिन्न कार्यक्रमहरू यहाँ सञ्चालन गर्न विदेशीहरू उत्सुक रहेको पाइन्छ । यसले गर्दा हामी भौगोलिक रूपमा पनि क्षमता विकासको हब नै बन्न सक्छौं । यस्ता कार्यक्रममा हामीले सहभागीहरूलाई अध्ययन भ्रमणको अवसरको रूपमा पनि उत्प्रेरित गरिरहेका छौं । यस्तो सोच एवम् प्रशिक्षार्थीहरूको आदान प्रदानबाट तालिममा नवप्रवर्तन ल्याउन सकिने, तालिम प्रदायक संस्थाको विश्वव्यापी पहिचान स्थापित हुने र पर्यटकीय गतिविधिमा समेत टेवा पुग्ने देखिन्छ ।
(कार्की नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक हुन् ।)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x