नेपाल लगानीको उत्कृष्ट गन्तव्य बन्दै छ : लगानी बोर्डका सीईओ भट्ट
काठमाडौं, २९ भदौ । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बन्दै गएको बताएका छन् । बुधवार बोर्डद्वारा आयोजित ‘सस्टेनेबल इन्फ्रास्ट्रक्चर फोरम २०२२’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सीईओ भट्टले नेपालमा लगानीको वातावरण बन्दै गएको र आगामी दिनमा यसलाई थप उचाइमा पु¥याउन बोर्ड प्रतिबद्ध रहेको बताए ।
बोर्डमार्फत लगानी सहजीकरण भएका निर्माण सम्पन्न एवं निर्माणाधीन आयोजनाबारे जानकारी गराउँदै सीईओ भट्टले अबका दिनमा हरित ऊर्जा परियोजनामा लगानीको खाँचो आवश्यकता पर्ने बताए । आन्तरिक र बाह्य ठूलो लगानी सहजीकरण एवं व्यवस्थापनमा सघाउँदै आएको बोर्डले सफा र हरित ऊर्जामा जोड दिएको उनको भनाइ थियो । सार्वजनिक निजी साझेदारी लगानी ऐन आएपछि बोर्डले सार्वजनिक निजी साझेदारीका आयोजनालाई अग्रणी रूपमा अघि बढाएको उनले बताए ।
बोर्ड रणनीतिक र व्यावसायिक योजना अनुसार अघि बढेको सीईओ भट्टले बताए । ५ वर्षमा अर्थात् २०२६ सम्ममा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने र सार्वजनिक निजी साझेदारीका ६ अर्बका आयोजना व्यवस्थापन गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।
‘बोर्डले गुणस्तरीय लगानीमा जोड दिएको छ,’ उनले भने, ‘यसका लागि विभिन्न दातृ निकायसँग समझदारी गरिएको छ ।’
कार्यक्रमको उद्घाटन समारोहमा बोर्डले वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण सहयोग गर्ने संस्थाका प्रतिनिधिलाई सम्मान समेत गरेको छ ।