एक महिनामा ८ खर्ब ६४ अर्ब तरलता प्रवाह
काठमाडौं, ३ असोज । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा ८ खर्ब ६४ अर्बभन्दा बढी तरलता प्रवाह गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रिपोमार्फत रु. ४९ अर्ब ३८ करोड र स्थायी तरलता सुविधामार्फत रु. ८ खर्ब १४ अर्ब ७१ करोड गरी कुल रु. ८ खर्ब ६४ अर्ब ९ करोड तरलता प्रवाह गरिएको हो ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु)बाट अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी रु. ४० अर्ब ५३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ करोड ९५ लाख खुद खरिद गरी रु. ७ अर्ब ८ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी रु. ५३ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४२ करोड विक्री गरी रु. ५० अर्ब बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।