पहिरोले ढाल्यो लमही-घोराही १३२ केभी प्रसारण लाइन टावर
काठमाडौं, २२ असोज । अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही-घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नम्बरको टावर ढालेको हो ।
प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिइएको छ ।
प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायत क्षेत्रका घरायसी ग्राहकलाई विद्युत् आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुनःस्थापना प्रणाली (ईआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्ति दिने उल्लेख गरेको छ । ईआरएस टावर जडानका लागि सर्भेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्ने बताइएको छ ।