Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अर्थतन्त्रमा आएको समस्या समाधानका लागि नीतिगत सुधारमा निजीक्षेत्रको जोड

अर्थतन्त्रमा आएको समस्या समाधानका लागि नीतिगत सुधारमा निजीक्षेत्रको जोड

काठमाडौं, ८ मंसिर । पछिल्लो समय मुलुकको आर्थिक वृत्तमा देखिएको अप्ठ्यारो सहज बनाउन मुख्यतः नीतिगत सुधार हुनुपर्नेमा निजीक्षेत्रले जोड दिएको छ । कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको करदाता सम्मान कार्यक्रममा निजीक्षेत्रका उद्योगी व्यवसायीको संगठनका प्रतिनिधिले यस्तो औंल्याएका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले करलाई रहरले तिर्ने वातावरण बनाउन आग्रह गरे । त्यस्तै उनले राजस्व न्यायाधिकरणमा विभागले हार्ने किसिमकै मुद्दामा पनि बारम्बार निजी क्षेत्रलाई दुःख दिइएकामा गुनासो गरे । अहिले तरलता अभाव सबैभन्दा ठूलो समस्या भएकाले यसको समाधान नगरी अर्थतन्त्रमा सुधार आउन नसक्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले करको दायरा विस्तार गर्न नागरिकता दिने समयमै प्यान कार्ड दिने व्यवस्था गर्न विभागलाई सुझाव दिए । ब्याजदर वृद्धिले अर्थतन्त्रमा ल्याएको समस्या समाधान गर्न नीतिगत सुधार गर्नुपर्नेमा उनको जोड थियो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले ब्याजदर वृद्धि, तरलता अभावजस्ता कारणले निजी क्षेत्रको मनोबल घटेको र पुससम्म राजस्व सङ्कलनमा थप सङ्कुचन आउने देखिएको बताए ।

सोही कार्यक्रममा राजस्व सचिव रामेश्वर दङ्गालले चालू आर्थिक वर्षको पहिलो चार महिनामा लक्ष्यको ७२ प्रतिशत मात्रै राजस्व सङ्कलन भएकाले अहिले इतिहासकै कठिन घडीमा अर्थतन्त्र रहेको बताए । राजस्व सङ्कलनमा देखिएको सङ्कुचनले सरकारका आर्थिक नीति कार्यान्वयनसहित समग्र क्षेत्रमै असर पर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले विगत चार महिनाको अवस्था हेर्दा आन्तरिक राजस्व ‘स्टे«स’मा रहेको र भोलिका दिनमा अझै चुनौतीपूर्ण अवस्थामा हुने बताए । विभागले कर प्रशासनलाई चुस्त बनाउन प्रविधिको प्रयोगमा जोड दिइएको, करदाताको वर्गीकरण गरेर १० करोडभन्दा माथिको कारोबार गर्नेलाई विद्युतीय बीजक अनिवार्य गरिएको जानकारी उनले दिए । अर्थतन्त्रको चक्र बिग्रन नदिन अबका दिनमा सबैको प्रयास आवश्यक रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x