काठमाडौं–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति
काठमाडौं, ८ पुस । नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ ।
‘आजको सुरुआत, भोलिको आधार ः काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ । नेपाली सेनाका हालका प्रवक्ता नारायण सिल्वालको अध्यक्षतामा गठन भएको उक्त समयन्त्रलाई आयोजना अघि बढाउने सिलसिलामा देखिएका यावत समस्या र चुनौती समन्वय गरी सुल्झाउने कार्य जिम्मेवारी छ ।
समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ । खासगरी पूर्वी र मध्य तराई÷मधेसबाट कम समय र छोटो दूरीमा देशको राजधानीसँग जोड्ने समृद्धिको आकाङ्क्षा तथा उद्देश्य बोेकेको आयोजनाप्रति नेपाली जनताको ठूलो आशा र भरोसा लुकेको छ । आर्थिक वर्ष २०७४÷७५ मा सुरु भएको उक्त दु्रतमार्ग आयोजना २०८१ सालको पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको लम्बाइ ७२ दशमलव पाँच किलोमिटर छ ।
महादेवडाँडा, धेद्रे र लेनडाँडामा करिब छ दशमलव ४१ किमी दोहोरो सुरुङसहितको द्रुतमार्गमा साना र ठूला गरी ८७ पुल रहने छन् । ती पुलको लम्बाइ १० दशमलव ५९ किमी हुनेछ । पुल र सुरुङबाहेक सडकखण्ड ५५ दशमलव पाँच किमी रहनेछ । द्रुतमार्ग सडक ललितपुरमा सात दशमलव नौ किमी, काठमाडाँैमा चार, मकवानपुरमा ५३ र बारामा सात दशमलव छ किमी पर्छ ।
आयोजनाको कूल लागत रु एक खर्ब ७५ अर्ब १९ करोड ३६ लाख अनुमान गरिएको छ । आयोजनाको हालसम्मको वित्तीय र भौतिक प्रगति करिब २० प्रतिशत छ । आयोजनाका लागि गत आवसम्म रु ३७ अर्ब ९६ करोड खर्च भइसकेको छ । पछिल्लो समय आयोजना निर्माण कार्यको नेतृत्व सहायकरथी कमलविक्रम शाहले सम्हालेका छन् ।
देशको राजधानीलाई पूर्वी भू–भाग र तराईसँग जोड्ने वैकल्पिक राजमार्ग बनाउने सोचअनुरुप निर्माणाधीन काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजनाका लागि २०४९ सालमा डेनिस सहयोग नियोगबाट सम्भाव्यता अध्ययन गरिएको थयो ।