नयाँ सरकार आएसँगै शेयर बजारमा उत्साह, परिसूचकसँगै कारोबारमा समेत वृद्धि
काठमााडौं, ११ पुस । नयाँ सरकारको गठनको तयारी भएसँगै यसको सकारात्मक असर शेयर बजारमा परेको छ । गत बिहीवारसम्म पनि घट्दो अवस्थामा रहेको शेयर बजार साताको पहिलो कारोबार दिन सोमवार ५६.८६ अंकले बढेको छ । यस दिन बजार मापक नेप्से परिसूचक ३.०५ प्रतिशतले बढेर १९२४.०७ अंकमा पुगेको छ ।
यस दिन नेप्से परिसूचक मात्र होइन, कारोबार रकम समेत बढेको छ । गत हप्ताहरूमा मुश्किलले १ अर्ब हाराहारीमा कारोबार भइरहेकोमा सोमवार २ अर्ब ९ करोडभन्दा बढीको कारोबार भएको छ । यस दिन २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर किनबेच भएका थिए । यस दिन ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स समेत २.८ प्रतिशतले बढेको छ ।