मन्त्रिपरिषद् विस्तारको तयारी: प्रधानमन्त्रीले बाेलाए सत्ता साझेदार दलकाे बैठक
काठमाडौं, २८ पुस । बिहिबार मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक बस्ने भएकाे छ । दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको हाे ।
यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।
छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई यही पुस २६ गते ९९ प्रतिशत सांसदले विश्वासको मत दिएका थिए ।