६ महीनामा २८ प्रतिशत मात्र राजस्व असुली, परिमार्जित कार्ययोजना बनाएर अघि बढ्ने भन्सार विभागको तयारी
काठमाडौं, ६ माघ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा लक्ष्य अनुसार राजस्व संकलन नभएको भन्दै अब राजस्व संकलनको बाँकी लक्ष्य पुरा गर्न परिमार्जित कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् ।
शुक्रवार अर्थको अर्थसँग कुरा गर्दै महानिर्देशक बुढाले परिमार्जित कार्ययोजना बनाई विभिन्न सम्बन्धित भन्सार कार्यालयहरूलाई पनि सोही कार्ययोजना अनुरूप काम गर्न निर्देशन दिइने बताए ।
उनले भने, ‘भन्सार कार्यालयको सुधारका साथै चोरी पैठारी नियन्त्रण गर्न स्थानीय स्तरका सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय राजस्व चुहावट नियन्त्रण गर्ने योजना छ।’ चोरी पैठारी नियन्त्रण हुँदा व्यापार बढ्ने र भन्सार नाकाबाट व्यापार आउँदा राजस्व संकलनमा वृद्धि हुने अपेक्षा लिएको उनले बताए ।
यसैगरी उनले लक्षय अनुसार राजस्व संकलन गर्न केन्द्रीय स्तरमा कार्यरत सरोकारवालासँग समन्वय गरी सूचनाको आदानप्रदान गरी कार्यको समीक्षा गर्न आवश्यक रहेको बताए ।
हालै नेपाल सरकारले वस्तुहरूमा लगाएको आयात प्रतिबन्ध खुकुलो गरेसँगै राष्ट्र बैंकले केही नीतिगत परिवर्तन गरेको छ । राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था हटाएसँगै आयात बढ्ने र फलस्वरूप राजस्व संकलनमा वृद्धिहुने विश्वास महानिर्देशक बुढाले व्यक्त गरे ।
गत आर्थिक वर्षमा विभागलाई ५३० अर्ब राजस्व संकलनको लक्ष्य तोकिएकोमा ५०६ अर्ब राजस्व असुली भएको थियो भने । चालू आर्थिक वर्षमा ६६८ अर्ब राजस्व संकलनको लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा १८७ अर्ब राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको २८ प्रतिशत मात्र हो ।
यस्तो अवस्थामा राजस्व संकलनमा भन्सार विभागसामु चुनौतीको चाङ रहेको विभागले जनाएको छ । सबै सम्बन्धित निकायसँग समन्वय गरी नीतिगत व्यवस्थामा भएका कमी कमजोरीलाई संशोधन गरी अघि बढ्ने तयारी रहेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्य विक्रम खड्काले बताएका छन् । साथै सम्बन्धित सरोकारवालाहरूसँगको छलफल एवं अन्तरक्रियाबाट प्राप्त सुझावलाई निष्कर्षको रूपमा अर्थ मन्त्रालयमा पेश गरी ठोस रणनीति बनाएर अघि बढ्ने उनले जानकारी दिए ।