Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सरकारको नीतिविपरीत बीमाबिना सञ्चालनमा आयाे जनकपुर-जयनगर रेल

सरकारको नीतिविपरीत बीमाबिना सञ्चालनमा आयाे जनकपुर-जयनगर रेल

काठमाडाैं, २१ फागुन । जनकपुर-जयनगर रेल सेवा सरकारको नीतिविपरीत बीमाबिना नै सञ्चालन भइरहेको छ। नियमित सञ्चालनमा आएको झन्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ।

२०७८ चैत १२ गतेदेखि नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ। भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन्। सो मार्गमा सञ्चालित  दुई वटा रेल बजेट अभावका कारण बीमा नगरीकनै सञ्चालन गर्नु परेको  नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए। उनले भने, ‘रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन।’

दुबै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रू १५ लाख र गत आवमा रू ३० लाख विनियोजन गरिएको थियो। एउटा बोगीसहितको रेलको बीमाका लागि रू ९० लाख आवश्यक पर्छ। रकम अभाव भएपछि बीमा गर्न नसकिएको साहको भनाइ छ।

‘दुबै रेलको बीमाका लागि रू एक करोड ८० लाख आवश्यक पर्छ,’ रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने। बीमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई  नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति रू सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए।

झाले भने, ‘एकातिर यहाँका बीमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बीमा गर्न बजेट अभाव छ। यात्रुको मात्रै बीमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बीमा गराउन सकेका छैनौँ।’

जयनगर-कुर्था रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गरे पनि हालसम्म दुबै रेल रेल्वे विभागको नाममा छन्। विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिए। गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो। रेल खुल्न लागेको समयमा टिकट नलिई चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो।

उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले कम्पनी दैनिक लाखौं रुपैयाँ घाटामा सञ्चालन भइरहेको, रेल तथा यात्रुको बीमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिइएको थिएन।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x