१० महिनामा भन्सार राजस्व लक्ष्यको ५८ प्रतिशत मात्र संकलन
काठमाडौं, १० जेठ । सरकारको मुख्य आम्दानीको स्रोत मानिने भन्सार राजस्व लक्ष्यको ४२ प्रतिशत न्युन संकलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख सम्मको १० महिने अवधिमा ५८ प्रतिशत मात्र राजस्व उठेपछि संकलनको अवस्था न्युन देखिएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९र०८० मा भन्सारबाट ५ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर चालु आर्थिक वर्षको १० महिनामा भन्सार राजस्व ३ खर्ब १८ अर्ब रुपैयाँ मात्र उठेको छ ।
गतवर्षको सोही अवधिमा भन्सार राजस्व ४ खर्ब ५ अर्ब रूपैयाँ उठेको थियो । चालु आव र गतवर्षको सोही अवधिको राजस्व संकलनको अवस्थालाई हेर्दाँ यो वर्ष २७ प्रतिशतले कमी देखिएको छ । सरकारले १० वस्तुमा लगाएको प्रतिबन्ध र विगतको तुलनामा आयात पनि करिब १८ प्रतिशतले कमि आएको हुँदा चालु आवमा भन्सार राजस्वमा कमी आएको भन्सार विभागमा निर्देशक पुण्य बिक्रम खड्काले जानकारी दिए ।
पछिल्लो समय सरकारले प्रतिबन्ध लगाएका वस्तु खुल्ला गरे पनि आयातमा सुधार नआएको हुँदा भन्सार राजस्व संकलनमा स्वतः असर परेको उनको भनाइ छ । चालु आवमा भन्सार राजस्व कम हुनको मुख्य कारण आयात घट्नु नै रहेको निर्देशक खड्काले जानकारी दिए । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि वैशाखसम्म अन्तर्राष्ट्रिय कुल व्यापार कारोबार १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ भएको छ । गतवर्षको तुलनामा यसपटक १६।७८ प्रतिशतले व्यापार कारोबारमा कमी आएको हो ।