बागमती प्रदेशका मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरुको सम्मानमा हस्तकला महासंघद्वारा स्वागत कार्यक्रम

काठमाडाैं, ५ साउन । बागमती प्रदेशका मुख्य मन्त्री माननीय सालिकराम जम्कट्टेलले हस्तकला व्यवसाय मात्र नभई नेपालको सम्पदा, कला, संस्कृति, रितरिवाज, धर्म लगायत राष्ट्रकै समग्र पहिचान भएको बताए । शुक्रबार नेपाल हस्तकला महासंघले आयाेजना गरेकाे स्वागत कार्यक्रमा उनले सरकार परिवर्तन भए पनि सरकारको आधारभूत नीति परिवर्तन हुनु नहुनेमा जोड दिंदै सरकारको तर्फबाट अविलम्ब हस्तकला ऐन पारित गर्न प्राथमिकता दिने प्रतिवद्धता व्यत्तः गरे ।
कार्यक्रममा माननीय पूर्व सांसद माधव पौडेलले नेपालको अर्थतन्त्रमा हस्तकला क्षेत्रको महत्वपूर्ण योगदानबारे चर्चा गर्दै हस्तकलाको विकासलाई प्राथमिकतामा पार्न अविलम्ब हस्तकला ऐन पारित गर्न र ७ वटै प्रदेशमा हस्तकला ग्राम स्थापनाको कार्य अघि बढाउनुर्नेमा जोड दिए । सो अवसरमा प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यले हस्तकला क्षेत्रमा आफ्नाे १२ वर्षे कार्य अनुभव बारे जानकारी गराउँदै हस्तकला युवा वर्गलाई स्वरोजगार र आय आर्जनको प्रमुख श्रोत हुने हुँदा हस्तकला ऐन चाँडो पारित गर्नुपर्नेमा जोड दिए ।
सोहि अवसरमा माननीय पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले आउने दिनमा हस्तकला उद्योग व्यवसायलाई परिस्कृत रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै वातवरण अनुकुल बनाउनु पर्नेमा जोड दिए । यसैगरी माननीय मन्त्री रामकृष्ण चित्रकारले हस्तकला नेपालको मौलिक पहिचान भएको, संस्कृति र सम्पदासंग जोडिनुका साथै बागमती प्रदेशको महत्वपूर्ण आर्थिक मेरुदण्ड भएको चर्चा गर्दै कुरामा मात्र सीमित नराखी यस क्षेत्रको विकासको नीति बनाई कार्यान्वयन गर्न जोड दिए।
यस्तै माननीय प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा (तामाङ) ले हस्तकलाको मोल नहुने बताउँदै यसलाई उपभोक्ताहरुले भवन, क्वार्टर बनाउँदा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
यस्तै महासंघका अध्यक्ष शाक्यले बागमती प्रदेशमा ८० प्रतिशतभन्दा बढी हस्तकलाहरु विद्यमान रहेको चर्चा गर्दै विगत वर्षदेखि हस्तकला क्षेत्रको प्रभावकारी विकासका लागि हस्तकला ग्राम स्थापनाका लागि आवश्यक नीति नियमहरुको तर्जुमा गरी अध्यादेशमार्फत हस्तकला ऐन पारित गर्न पहल गर्दै आएको बताउँदै यसको पूर्णताका लागि सररकारको ध्यानाकर्षण समेत गरे । यसैगरी सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण सम्पन्न भईसकेको जानकारी गराउँदै समग्र हस्तकलाको विकासका लागि सो केन्द्रको संचालनार्थ महासंघलाई हस्तान्तरण गर्न समेत बागमती प्रदेश सरकारमा आग्रह गरे ।
हस्तकला महासंघले बागमती प्रदेश सरकारका मुख्य मन्त्रीज्यू तथा विभागीय मन्त्रीज्यूहरु र प्रदेश सांसदहरुको सम्मानमा २०८० श्रावण ५ गते महासंघको सचिवालयमा स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरेकाे छ । बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जम्कट्टेल, प्रदेशका र्आिर्थक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा (तामाङ), प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, प्रदेशका मन्त्री रामकृष्ण चित्रकार र बागमती प्रदेशका सांसद शैलेन्द्रमान बज्राचार्यलाई अध्यक्ष प्रचण्ड शाक्यले स्वागत गरे ।