पर्यटनभन्दा बिजनेस सर्भिसबाट नेपालको आम्दानी धेरै
काठमाडौं, ६ भदौ । नेपालले आर्थिक वर्ष २०७९/८० मा पर्यटनभन्दा बिजनेस सर्भिसबाट धेरै विदेशी मुद्रा आर्जन गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार नेपालले गएको आर्थिक वर्षमा पर्यटनबाट ६१ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको हो । तर, गत वर्ष बिजनेस सर्भिसबाट नेपालले ६६ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्ष नेपालले पर्यटनभन्दा बिजनेस सर्भिसबाट धेरै आम्दानी गरेको छ। व्यापारिक सेवा बढाए बापत हुने यस्तो आम्दानी पछिल्लो समय वृद्धि हुँदै आएको छ। विभिन्न आउट सोर्सिङ लगायतका सेवाबाट यस्तो आम्दानी हुन्छ। यद्यपि यसको विस्तृत विवरण भने राष्ट्र बैंकले उल्लेख गरेको छैन ।
समग्रमा सेवा खाता ऋणात्मक हुँदै आएको छ। गत वर्ष पनि नेपालको सेवा खाता ८३ अर्बले घाटामा गएको छ। पर्यटन आम्दानी संकुचित हुँदा सेवा खाता घाटाको विस्तार भएको हो।
सेवाबाट हुने वैदेशिक मुद्राको आर्जनका स्रोतमा बिजनेस सर्भिसको उदय भएपनि यसको व्यवस्थापन र प्रबर्द्धन भने कमजोर रहेको छ।
सेवा अन्तर्गत नै पर्ने दूरसञ्चारको आम्दानी भने घट्दै आएको छ। अन्तर्राष्ट्रिय कलबाट हुने यस्तो आम्दानी गत वर्ष १५ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ। भ्वाइस कलको ठाउँमा डेटामा आधारित कल गर्ने उपभोक्ताको बानी परेपछि यसको आम्दानी घटेको हो।