मूल्य वृद्धिदर घट्याे, मंसिरमा मुद्रास्फीति ४.९५ प्रतिशत कायम

काठमाडाैं, २७ पुस । चालु आर्थिक वर्षकाे मंसिर महिनामा महँगी घटेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत कायम भएकाे छ ।
कार्तिकमा यस्ताे मुद्रास्फीति ५.३८ रहेकाे थियाे भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.६६ प्रतिशत, ८.३७ प्रतिशत र ०.१३ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३७.२२ प्रतिशत, फलफुलको १३.३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १३.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.५९ प्रतिशत र दाल तथा गेडागुडीको १०.५६ प्रतिशतले बढेको छ ।
यस्तै गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.४८ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ११.०३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।