संसद भवन निर्माणको कार्य अन्तिम चरणमा, संसदकाे हिउँदे अधिवेशन नयाँ भवनमा गरीने
काठमाडाैं, ५ माघ । नेपालको नयाँ संसद भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ४ वर्षदेखि निर्माणाधीन मुलुकको केन्द्रीय कानून निर्माताहरु रहने थलो अर्थात् संघीय संसद भवनमा यस वर्षको हिउँदे अधिवेशन नयाँ भवनमा नै सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ ।
१ सय७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको संघीय संसद भवनको शुरु निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३१ रुपैयाँ रहेपनि मूल्यवृद्धि र विभिन्न कन्टिन्जेन्सीसहितसम्पूर्ण निर्माण कार्य सकिँदा बजेटको यो आकार करिब ९ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ ।
निर्माणका लागि तोकिएको समयभन्दा बढी भइसकेकाले पनि २०८० सालको हिउँदे अधिवेशन नयाँ भवनमै सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्री, सभामुख, मन्त्रीदेखि सांसदहरुसम्मले पटक पटक ताकेता गरिरहेका छन् ।
यसैका लागि हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतले निर्माणाधीन भवनको अवलोकन गर्दै हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी गर्न निर्देशन दिए । भवन निर्माणको प्रगतिबारे सभामुखले सांसदहरुलाई समेत जानकारी गराइसकेका छन् ।
शहरी विकास मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठका अनुसार चाँडो काम सम्पन्न गर्न आवश्यक सहयोग गर्न सरकार तयार रहेको बचन प्रधानमन्त्रीले दिएकाले पनि काममा कुनै ढिलाई हुने छैन।
सिंहदरबारस्थित पुतलीबगैंचामा १ असोज २०७६ संघीय संसदभवननिर्माणका लागि शिलान्यास गरिएको थियो । चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो भवन इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलकाे छ ।