Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

अर्थतन्त्रको अवस्थाबारे चेम्बरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

अर्थतन्त्रको अवस्थाबारे चेम्बरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २४ वैशाख। नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेशकुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरू महेश अग्रवाल, सुरेन्द्रवीर मालाकारसहित चेम्बरका पदाधिकारी टोलीले प्रधानमन्त्री दाहालसँग आइतवार भेट गरेका हुन् ।

भेटमा वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्ने लगायतका सुझाव दिएको थियो । विगतमा लिएका संकुचित नीतिका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको थियो । व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधी खुम्चिएको भेटमा जानकारी गराइएको थियो ।

अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर थियो । आयकर ऐन २०५८ का अधिकांश प्रावधान स्पष्ट नहुँदा अन्तशुल्क, भन्सार आदिमा पछिल्लो समय भूतप्रभावी दायित्व देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । यस्तै घरजग्गा खरीद विक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालू नाफाको स्रोतलाई नै मान्यता दिने मालपोत कार्यालयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको ठहर छ ।

भेटका अवसरमा चेम्बरले सहकारी क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि अविलम्व पहल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो । विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीलाई कुनै जरीवाना लाग्ने अवस्था आएमा पूर्ण छूट दिने व्यवस्था गर्नुपर्ने चेम्बरको माग थियो । यस्तै करसँग जोडिएका विवादित मुद्दाको यथासीघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गनुपर्ने चेम्बरको माग थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x