लय समात्दै सेयर बजार, ३६ अंकको सुधार
काठमाडौं, २१ असार । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ । अघिल्लो दिन ८ अंकले बढेको बजार आज पनि ३६.०१ अंकले बढेर १२२४.४१ को बिन्दुमा उक्लिएको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । एक सय १ सय ६८ कम्पनीको ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । हिजो एक सय ६९ कम्पनीको २५ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।
त्यस्तै आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३७.३४ अंकले घटेको छ भने व्यापार समूहको कारोबार नै भएन । बाँकी सबै समुहको परिसूचक सकारात्मक रह्यो ।
केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएयता बजार घट्दोक्रममा रहेको छ । यसरी घटेको बजार १२ सय भन्दा तल्लो बिन्दुमा पुगेको थियो । सरकारको विभिन्न निर्णयका कारण लगानीकर्ता निराश भएका कारण पनि बजारले आशातित गति लिन नसकेको विश्लेषण गरिएको छ ।