Date

बुध, माघ ९, २०८१
Wed, January 22, 2025

६ महिनामा १३ अर्ब १० करोड रुपैयाँ बराबरका ५ हजार ४८० विद्युतिय गाडी आयात

६ महिनामा १३ अर्ब १० करोड रुपैयाँ बराबरका ५ हजार ४८० विद्युतिय गाडी आयात

काठमाडाैं, ९ माघ । चालु आर्थिक वर्षमा नेपालमा विद्युतीय सवारी साधन (ईभी) को आयात सामान्य रूपमा वृद्धि भएको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ बराबरका ५ हजार ४८० ईभी गाडिहरू आयात भएका छन् ।

यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७३ गाडिले मात्रै बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ बराबरका ५ हजार १०७ गाडिहरू आयात भएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ईभी आयात झण्डै दुई गुणाले वृद्धि भएको थियो ।

पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले २०७९/८० को बजेटमार्फत १०० किलोवाटभन्दा बढी क्षमताका गाडिहरूमा भन्सार दर र अन्तःशुल्कमा सहुलियत दिएका थिए । तर, उनका उत्तराधिकारी वर्षमान पुनले उक्त व्यवस्था उल्ट्याउँदै विद्युतीय गाडिहरूमा भन्सार र अन्तःशुल्क दर बढाएका थिए । ५० किलोवाटसम्मका गाडिहरूमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लागू गरिएको छ । ५१-१०० किलोवाट क्षमताका गाडिहरूमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क, १०१-२०० किलोवाटमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क तथा २०१-३०० किलोवाटमा ४० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लागू गरिएको छ । यस्तै, ३०० किलोवाटभन्दा माथिका गाडिहरूमा पनि ४० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क राखिएको छ । समग्रमा, विद्युतीय गाडिहरूमा कर दरमा झण्डै १० प्रतिशत वृद्धि भएको छ ।

चालु आर्थिक वर्षमा ५१-१०० किलोवाट क्षमताका गाडिहरू सबैभन्दा धेरै आयात भएका छन् । यो क्षमताका ३ हजार १९१ गाडिहरू आयात भएका छन् भने ५० किलोवाटसम्मका १ हजार ७२५ गाडिहरू नेपाल भित्रिएका छन् । यस्तै, १०१-२०० किलोवाटसम्मका ५५३ गाडिहरू आयात भएका छन् भने २०१ किलोवाटभन्दा माथिका केवल ११ गाडिहरू भित्रिएका छन् ।

चालु आर्थिक वर्षमा चीनबाट १० अर्ब ६४ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरका ४ हजार २०५ गाडिहरू आयात भएका छन् । भारतबाट २ अर्ब २९ करोड ८१ लाख ६५ हजार रुपैयाँ बराबरका १ हजार २५० गाडिहरू आयात भएका छन् । जर्मनीबाट ११ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबरका १७ गाडिहरू र अमेरिकाबाट १ करोड ६६ लाख ८ हजार रुपैयाँ बराबरका ४ गाडिहरू आयात भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युतीय गाडिहरूबाट सरकारले ८ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा संकलित ५ अर्ब ६७ करोड ३५ लाख ३६ हजार रुपैयाँभन्दा करिब साढे दुई अर्ब रुपैयाँले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x