Date

बुध, चैत्र १९, २०८१
Wed, April 2, 2025

सुन आयातमा ह्वात्तै वृद्धि: आठ महिनामै १४ अर्ब ७७ करोड बराबरको सुन भित्रियो

सुन आयातमा ह्वात्तै वृद्धि: आठ महिनामै १४ अर्ब ७७ करोड बराबरको सुन भित्रियो

काठमाडाैं, १० चैत्र । सरकारले सुनको भन्सार शुल्क घटाएपछि पछिल्लो समय सुन आयातमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको आठ महिनामा मात्र १,२२३ केजीभन्दा बढी सुन तथा सुनका गहना नेपाल भित्रिएको छ, जसको मूल्य १४ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी छ।

भन्सार विभागका अनुसार सरकारले मंसिर ६ गते सुनको भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुन आयात तीव्र गतिमा बढेको हो।

महिनावार आयात विवरण
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म सुन आयातको ग्राफ क्रमशः उकालो लागेको छ। साउनमा १०५ केजी १५० ग्राम सुन भित्रिएको थियो भने भदौ र असोजमा न्यून मात्रामा आयात भएको थियो। तर, पुस महिनामा ४०२ केजी सुन भित्रिएर यो वर्षकै उच्च विन्दुमा पुगेको देखिन्छ।

फागुन महिनामा मात्र ३०५ केजी ५८० ग्राम सुन तथा गहना नेपाल भित्रिएको छ, जसको कुल मूल्य ३ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ बराबर रहेको छ। माघमा ३०७ केजी सुन आयात भएको थियो भने मंसिरमा ५७ केजी सुन आयात भएको देखिन्छ।

सरकारलाई राजस्व संकलन
सुन आयातबाट चालु आर्थिक वर्षको आठ महिनामा सरकारले १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। फागुन महिनामा मात्र सरकारले ३९ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

कहाँबाट आउँछ सुन?
नेपालमा मुख्य रूपमा युनाइटेड अरब इमिरेट्स (युएई), टर्की, कतार, मलेसिया, हङकङ, चीन, भारतबाट ठूलो मात्रामा काँचो सुन आयात हुने गरेको छ। साथै, साउदी अरेबिया, थाइल्याण्ड, अमेरिका, कुबेत, बेल्जियम, सिंगापुर, कोरिया, जापान लगायतका दुई दर्जन बढी मुलुकबाट पनि सुन तथा गहना नेपाल भित्रिन्छ।

हाल सुन आयातको जिम्मा वाणिज्य बैंकहरूलाई दिइएको छ, जसले कानुनी रूपमा दैनिक २० केजीसम्म सुन आयात गर्न पाउने व्यवस्था छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x