उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

काठमाडौं, १० चैत्र । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय पानी सम्मेलनमा बोल्दै उनले सिँचाई ,खानेपानी,उर्जा र जलश्रोतलाई राम्रो ढंगले अध्ययन गरी कार्यान्वयन गर्नमा मन्त्रालय पछाडि परेको गुनासो छलफलमा सबैबाट आएको बताएका हुन् ।
उनले भने,‘हाम्रो छिटो छरितो काम गर्न नीति ऐन कानुन चाहियो त्यसैले हामीले जलश्रोत सम्बन्धि ऐन चाँडै पास हुने कुरा गर्यौं । सिँचाई होस्, खानेपानी होस् , उर्जा होस् या जलश्रोत राम्रो ढंगले अध्ययन गरेर कार्यान्वयन गनुर्पछ । हामी कार्यान्वयनमा पछाडि छौं भन्ने सबैको कुरा आएको छ । हामीले ध्यान दिनुपर्ने विषय कार्यान्वयनको तहलाई छिटो छरितो समयअनुकुल छिटो छरितो गर्ने कुरामा दुई मत छैन । मलाई कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन ध्यान दिने र न्यायोचित वितरण गर्ने काम मन्त्रालयको हो ।’
त्यस्तै उनले सबै राजनीतिक दलका नेताहरु र विज्ञहरु जलश्रोतको विकास र उपयोग चाँडोभन्दा चाँडो गरेर यसबाट निम्तने जोखिलाई न्यूनिकरण गर्दै जाउँ भन्ने कुरामा सहमत र एकमत भएको पनि जानकारी गराए ।
उनले भने,‘हामी सबैजना के कुरामा सहमत भयौं भन्ने कुरा र राजनीतिक दलका नेताहरु र विज्ञहरुको के कुरामा एकमत छ भने जलश्रोतको विकास र उपयोग चाँडोभन्दा चाँडो गरौं र यसबाट निम्तने जोखिलाई न्यूनिकरण गर्दै जाउँ भन्ने कुरामा सहमत र एकमत भएको विश्वास लिएको छु ।’
उनले विपद् जलले मात्र नल्याउने भन्दै सबैखाले जोखिममा हातेमालो गर्नको लागि सबैमा अपिल समेत गरे ।