तोडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरको आपत्ति, क्षतिपूर्तिको माग

काठमाडौं १७ चैत्र । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भिर आपत्ति जनाएको छ ।
काठमाडौंको बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले गम्भिर आपत्ति जनाएको हो ।
चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार सहित दुई युवाको दुःखद निधन भएको छ, सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा संचारगृहमा समेत क्षति पुगेको छ, ।’ यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भत्र्सना गर्दै चेम्बर अफ कमर्सले शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ ।
प्रर्दशनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ ।
आन्दोलनका क्रममा मानवीय जीवनमा समेत दुःखद क्षति भएको उल्लेख गर्दै चेम्बरले ज्यान गुमाएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदनना व्यक्त गरेको छ ।
मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको अवस्थामा भए÷गरेका यस्ता खाले उच्छृङखल गतिविधिले अर्थतन्त्रलाई थप धरासायी बनाउने भएकाले संयमित हुन सवै सरोकारवालालाई चेम्बरले अनुरोध गरेको छ ।