डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद समाधान गर्न प्राधिकरणले उद्योगीसँग थाल्याे छलफल

काठमाडौ, ३१ चैत्र । डेडिकेटेड र ट्रंक लाइन अन्तर्गतको विद्युत महसुल विवाद समाधानको पहल स्वरूप नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यवसायीहरुसँग छलफल थालेको छ ।
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले शुक्रबार उद्योगी व्यवसायीहरुलाई प्राधिकरणमा बोलाई सौहार्दपूर्ण वातावरणमा छलफल प्रारम्भ गरेका हुन् । नेपाल सिमेन्ट उत्पादक संघ, नेपाल स्टिल उद्योग संघ र नेपाल धागो उत्पादक संघका प्रतिनिधिहरु सहभागी उक्त छलफलमा प्राधिकरणका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
२०७२ सालदेखि डेडिकेटेड र ट्रंक लाइन ग्राहकसँगको विवादित महसुलको विषयमा प्रबन्ध निर्देशक शाक्यले नेपाल सरकारको निर्णय कार्यान्वयन गर्दै महसुल संकलन विनियमावलीअनुसार पाँच प्रतिशत धरौटी राखी पुनरावलोकन समितिसमक्ष निवेदन दिन उद्योगीहरुलाई अनुरोध गरेका थिए ।
छलफलमा सहभागी उद्योगी व्यवसायीहरुले भने उक्त विवादको समाधान सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिषचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयनमार्फत न्यायोचित समाधान गरिनु पर्ने माग गरेका छन् ।
प्राधिकरणको उच्च नेतृत्वसहितको टोलीले लामो समयपछि विवाद समाधानको उद्देश्यले छलफल थालनी गरेको उद्योगी व्यवसायीहरुले सकारात्मक रुपमा लिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘उक्त विवादित विषय शीघ्र समाधान भई उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच सुमधुर व्यवसायिक सम्बन्ध कायम गर्दै देशका लागि आ–आफ्नो क्षेत्रबाट थप योगदान गर्न सफल हुनेमा हामी विश्वस्त छौं ।’