बिमा प्राधिकरणद्वारा पुल स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशनको दोस्रो संशोधन, के थपियो ?

काठमाडौं, १२ बैशाख । नेपाल बिमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बिमा सामूहिक बिमा कोष (पुल) स्थापना तथा संचालन सम्बन्धी निर्देशनलाई दोस्रो पटक संशोधन गरेको छ ।
दोस्रो संशोधनमा बिमकले बिमालेख जारी गर्दा प्राप्त बिमाशुल्क बैंक खातामा प्रत्येक महिनाको १ देखि १५ गतेसम्म्को विवरण १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र जम्मा गर्नुपर्ने छ ।
कोष प्रबन्धकले बिमाशुल्क प्राप्त भए नभएको यकिन गर्ने, बिमक आफूले भुक्तानी गरेको दाबी बापतको रकम प्रत्येक महिनाको १ देखि १५ गतेसम्मको विवरण १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गते भित्र कोष प्रबन्धक समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
संशोधित निर्देशनमा कोषको सदस्यता खारेज हुनेमा अर्को व्यवस्था थपिएको छ । जसमा सदस्यता खारेज भएको र विभागमा सूचीकृत नभएको तथा सो निर्देशन पालना नगर्ने बिमकले वैदेशिक रोजगार म्यादी जीवन बिमालेख बिक्री गर्न नपाउने व्यवस्था छ । यस्तै निर्देशनको अनुसूचीमा आवश्यक हेरफेर गर्ने अधिकार प्राधिकरणको अध्यक्षलाई हुने व्यवस्था गरेको छ ।
प्राधिकरणले नेपाल बीमा प्राधिकरणबाट निर्दिष्ट वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक बीमा कोष स्थापना गरी सामूहिक पुलमार्फत वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न र दाबी भुक्तानी गर्न आवश्यक भएकोले निर्देशन जारी गरेको जनाएको छ ।
बीमा ऐन, २०७९ को दफा ६५ र दफा १६६ को अधिकार प्रयोग गरी नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष ९पुल० स्थापना तथा संचालन सम्बन्धी निर्देशन, २०८१ जारी गरेको थियो । यो निर्देशन दोस्रो पटक २०८२ वैशाख ५ गते संशोधन भएको हो ।