विद्युत प्राधिकरणको कुल दायित्व ३ खर्ब ८५ अर्ब

काठमाडौं, १९ वैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल दायित्व ३ खर्ब ८५ अर्ब रहेको बताएका छन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले यस्तो बताएका हुन् ।
‘नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड गरी २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालिन ऋण रहेको छ जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो,’ शाक्यले भने, ‘प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ ।’
यसको अलावा, २०८०/०८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड रहेको उनले बताए। प्राधिकरण विरुद्ध विभिन्न अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकम सहितका मुद्दाहरुको सम्भावित दायित्व २०८१ फाल्गुन मसान्तसम्म ८ अर्ब ४० करोड पुगेको उनले उल्लेख गरे ।
यसैगरी, प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवर्द्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको संस्थागत जमानत प्रदान गरेको जानकारी उनले दिए ।